शर्मिला गुरुङ
लोकगायिका
मलाई जहाँसम्म लाग्छ यो पर्वले खासै विकृति ल्याउँदैन । किनभने यो चाड त गुरुङहरुलाई एकतामा बाँध्ने चाड हो । भाषा र संस्कृति जोगाउने पर्व हो । ल्होसारमा नाचगान र रमाइलो मात्र हुँदैन गुरुङहरुको पूजाआजा कसरी हुन्छ । धार्मिक संस्कार के छ त्यो विषयमा पनि आम गुरुङहरुलाई जानकारी गराउने चाड हो । त्यसैले यदाकदा कोही व्यक्तिले जाँड रक्सी खाएर हो–हल्ला गर्लान अर्कै कुरा तर विकृतिकै रुपमा भने विकास हुन पाउँदैन ।
आज तमु ह्लोसार । नेपालमा रहेका विभिन्न जाती मध्येको एक जाति गुरुङको महान पर्व । आजदेखि नयाँ वर्ष सुरु भएको विश्वासका साथ गुरुङहरुले तमु ह्लोसार बनाउँदै छन् । पछिल्लो समय चाडपर्वका नाउँमा विकृति र विसङ्गति पनि बढिरहेको छ । तर लोकगायिका शर्मीला गुरुङ भने तमु ह्लोसारले विकृति ल्याउने भन्दा पनि संस्कृति बचाउने काममा टेवा पु¥याएको दावी गर्छिन् । कसरी मनाइन्छ तमु ह्लोसार ? यसको विशेषता के के छन् ? तमु कलाकारले यो चाडलाई कसरी मनाउँछन् ? तमु ह्लोसारसँग केन्द्रित रहेर संसार न्युज डटकमका लागि गुरुङसँग संगीता पनेरुले गरेको कुराकानी ः
कसरी मनाउँदै हुनुहुन्छ तमु ह्लोसार ?
हरेक चाडपर्वमा हामी कलाकारहरुको भूमिका महत्वपूर्ण हुन्छ । विभिन्न ठाउँमा हुने सांस्कृतिक कार्यक्रममा गएर गीत गाउने र आम मानिसलाई मनोरञ्जन प्रदान गर्ने काम कलाकारको हुने हुनाले आज पनि म नवलपरासीको वर्दघाटमा आएको छु ल्लोसारको कार्यक्रममा सहभागी हुन । यस्तै सांस्कृतिक कार्यक्रममा सहभागी हुने र आफन्तहरुसँग भेटेर रमाइलो गर्दै मनाउँदै छु ।
केही समय अघि ल्होसारको त्यत्ति चर्चा हुँदैनथ्यो अहिले जसरी प्रचार प्रसार भइरहेको छ यसलाई कसरी लिनु भएको छ ?
हो आज भन्दा १०÷१५ वर्ष अघि सम्म पनि तमु ल्होसारको त्यत्ति चर्चा थिएन । पश्चिमका गुरुङहरुले आफ्नो तरीकाले सामान्य ढंगबाट मनाउँथे । एक दशक यता जसरी चर्चा भइरहेको छ यो एकदमै राम्रो कुरा हो । म त पश्चिमेलीको छोरी भएर मलाई ल्होसारको बारेमा पहिलेदेखि नै थाहा भए पनि पूर्वका धेरै गुरुङहरु ल्होसारको बारेमा अँझै अनविज्ञ छन् । पूर्वका धेरै गुरुङहरुलाई त गुरुङ भाषा र संस्कृति पनि थाहा छैन । पूर्व मेचिदेखि पश्चिम महाकाली सम्म जहाँ जहाँ गुरुङहरु छन् त्यहाँ त्यहाँ गुरुङ भाषा र संस्कृतिको प्रचार प्रसार हुनुपर्छ भन्ने मान्यता ममा पनि छ । सकारात्मक ढंगले ल्होसारको प्रचार हुनु सांस्कृतिक कार्यक्रम हुन राम्रो विषय हो ।
यसले संस्कृति भन्दा बढि विकृतिलाई बढवा दिन्छ कि ?
मलाई जहाँसम्म लाग्छ यो पर्वले खासै विकृति ल्याउँदैन । किनभने यो चाड त गुरुङहरुलाई एकतामा बाँध्ने चाड हो । भाषा र संस्कृति जोगाउने पर्व हो । ल्होसारमा नाचगान र रमाइलो मात्र हुँदैन गुरुङहरुको पूजाआजा कसरी हुन्छ । धार्मिक संस्कार के छ त्यो विषयमा पनि आम गुरुङहरुलाई जानकारी गराउने चाड हो । त्यसैले यदाकदा कोही व्यक्तिले जाँड रक्सी खाएर हो–हल्ला गर्लान अर्कै कुरा तर विकृतिकै रुपमा भने विकास हुन पाउँदैन ।
भनेपछि ल्होसारको चर्चा देशप्यापी छ ?
हाम्रा गुरुङ दाजुभाइ तथा दिदी बहिनी देशभित्र मात्र नभएर देश बाहिर पनि पुगेका छन् । उनीहरु जहाँ जहाँ छन् त्यहाँ त्यहाँ तमु ल्होसारमा चर्चा व्यापक भएको छ । संस्कृतिलाई जोगाउन र विश्वसामु तमु ल्होसारको महत्वको विषयमा प्रचार गरीरहेका छन् । देशभित्र मात्र होइन देशबाहिर पनि तमु ल्होसारमो चर्चा व्यापक छ ।
तपाई चर्चिक गायिका तपाईका धेरै नेपाली लोकगीतहरु बजारमा छन् ? मातृभाषाका गीतहरु कति गाउनु भएको छ ?
मैले नेपाली भाषाका गीतहरु जति गाएको छु त्यसको अनुपातमा मातृभाषाका गीतहरु कमै छन् । धेरै जसो मातृभाषामा फिल्मका गीतहरु चाँही गाएको छु । आफ्नो भाषालाई प्रचार र प्रसार गर्नको लागि आगामी दिनमा वर्षको एक÷दुईवटा गुरुङ भाषाका गीतहरु गाउने सोंच बनाएको छु ।
आम तमु/गुरुङलाई ल्होसारको अवसरमा के भन्नुहुन्छ ?
सर्वप्रथम त देश तथा विदेशमा हुने सम्पूर्ण गुरुङहरुलाई तमु ल्होसारको हार्दिक शुभकामना व्यक्त गर्दछु । हामी गुरुङहरुको महान पर्व ल्होसारले एकतामा बल पुगोस् । आफ्नो सभ्यता र पहिचान रक्षाको लागि निरन्तर लागिरहुँ । समृद्ध नेपाल निर्माणको अभियानमा एकढिक्का भएर अघि बढौं भन्ने कामना गर्दछु ।
वि.सं.२०७३ पुस १५ शुक्रवार ०८:२२ मा प्रकाशित