काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा जोखिम अझै कायमै रहेको जनाएको छ।
प्राधिकरणले बुधबार दिउँसो करिब १ः३० बजे चीनतर्फबाट प्राप्त सूचनालाई उद्धृत गर्दै नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्ण रूपमा नखुलेको जनाएको हो।
ताल पूर्ण रूपमा नखुलेका कारण भोटेकोशी र त्रिशूली नदीमा थप जोखिम रहन सक्ने भन्दै अर्को सूचना जारी नभएसम्म नदी तटीय क्षेत्रबाट टाढा रहन र सुरक्षित स्थानमा बस्न प्राधिकरणले अनुरोध गरेको छ।
प्राधिकरणले नदी आसपासका बस्ती तथा बजार क्षेत्रमा रहेका नागरिकलाई विशेष सतर्कता अपनाउन तथा नदीको बहाव हेर्न वा अवस्था बुझ्न नदी किनारतर्फ नजानसमेत आग्रह गरेको छ।
उक्त सूचना जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रबाट प्राप्त विवरणमा आधारित रहेको जनाइएको छ।
वि.सं.२०८३ भदौ १० बुधवार १६:१४ मा प्रकाशित





























