१८ साउन, काठमाडौं । अवैध सुन र चाँदी तस्करी सम्बन्धी सुराकी दिने व्यापारी उमेश श्रेष्ठको बागबजारस्थित कोठाबाट थप एक किलो धातु बरामद भएको छ ।
उक्त धातुको बाहिरी भागमा सुनको जलप र भित्र चाँदी रहेको छ । महानगरीय प्रहरी परिसर प्रमुख श्याम ज्ञवालीले कोठामा लुकाई राखेको अवस्थामा अवैध धातु बरामद भएको जानकारी दिए ।
महानगरीय प्रहरी वृत दरबारर्मागले गत सोमबार कमलादीबाट बरामद गरेको भनिएको १५ किलो अवैध धातु र दुई थान पेस्तोल काण्डका मुख्य योजनाकार प्रहरी जवान बहादुर कठायतको बयानका आधारमा श्रेष्ठको कोठाबाट उक्त धातु बरामद भएको हो ।
प्रहरी परिसर प्रमुख ज्ञवालीका अनुसार दरबारर्माग प्रहरी वृतका सवारी चालक कठायत र श्रेष्ठ साथी हुन् । श्रेष्ठको सुराकीका आधारमा कठायतले सुन-चाँदी तस्करसँग १५ लाख रुपैँया नगदको बार्गेनिङ गरेको पाइएको छ । त्यस्तै सुन–चाँदी तस्करको समुह बा.६ च ५५११ नम्बरको गाडीसहित नक्सालस्थित एक होटलबाट निस्केर बल्खुबाट फरार भएको खबर लुकाउन तीनै चालक कठायतको मुख्य भुमिका देखिएको अनुसन्धानमा संलग्न प्रहरीले बताएको आइतबारकोगोरखापत्र दैनिकमा समाचार छ।
उक्त रहस्यमय घट्नाका अनुसन्धानका लागी जवान कठायतलाई प्रहरीले हिरासतमा लिएको छ ।
वि.सं.२०७७ साउन १८ आइतवार ०९:२० मा प्रकाशित






























