१८ साउन, काठमाण्डौं । कोरोना संक्रमण ठिक भयो भनेर नगरपालिकाद्धारा घर पठाईएका युवाले आत्महत्या गरेका छन् ।
भारतमा अत्यधिक कोरोना संक्रमण बढेपछि ज्यान जोगाउन घर फर्किएका धनुषाको मिथिला बिहारी २ का ३६ वर्षीय विश्वेस्वर यादवले आत्महत्या गरेका हुन् ।
भारतको राजस्थानको एक होटलमा काम गर्ने यादव गत १४ असारमा २५ हजार भारु तिरेर राजस्थानदेखि महोत्तरीको भित्तामोडसम्म गाडी बुक गरेर घर फर्किएका थिए । नाकाबाटै बिहारी नगरपालिकाले पठाएको गाडीमा बसेर सिधै क्वारेन्टिनमा पुगेका यादवको त्यहाँ पुगेको १२ दिनपछि कोरोना संक्रमण भए नभएको नमुना संकलन गरिएको थियो ।
उनको नमुना परीक्षणको रिर्पोट १ साउनमा आएको र कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि अस्पताल नलगी गंगुलीमा संचालन गरिएको आइसोलेशनमा भर्ना गरिएको परिवारले बताएको आइतबारको नयाँपत्रिका दैनिकमा समाचार छ ।
आइसोलेशनमा राखिएको १० दिनपछि पुनः कोरोना जाँच नगरी उनलाई घर जान भनिएको थियो । घरमै आइसोलेशनमा बस्नु भनेर दोश्रोपटक कोरोना जाँच नगरि नगरपालिकाले घर पठाइदिएपछि उनलाई घर तथा छिमेकमा शंकाको दृष्टिले हेर्न थालेपछि यादवले नगरपालिकामा फोन गरेर आफ्नो पुनः जाँचको माग गरेका थिए । तर, सुनुवाई नभएपछि उनले आत्महत्या गरेको आइसोलेशनमा सँगै रहेका उनका साथीले बताए ।
वि.सं.२०७७ साउन १८ आइतवार १०:०८ मा प्रकाशित






























