काठमाडौं । विज्ञहरुले कोरोना संक्रमण नियन्त्रण गर्न फेरि लकडाउन गर्नुपर्ने सुझाव प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा उनीहरुले निश्चित समय तोकेर कडाईपूर्वक लकडाउन गर्न सुझाव दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
झण्डै साढे चार घण्टासम्म चलेको छलफलमा विज्ञहरुले पुनः लकडाउन गर्न र आवश्यक परे कफ्र्यू पनि लगाउन सुझाव दिएको उनले बताए । कतिपय विज्ञहरुले संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउन पनि सुझाव दिएको थापाले जानकारी दिए ।
विज्ञहरुले लकडाउन गर्न, आवश्यक परे कफ्र्यू लगाउन, संक्रमण बढेका स्थानमा सिल्ड गर्न र नागरिक उत्तरदायित्व बढाउन सुझाव दिएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
छलफलमा आइसीयू र भेन्टिलेटरको उपलब्धता बढाउन पनि विज्ञहरुले जोड दिएका थिए ।
प्रधानमन्त्रीले आवश्यक र जायज सुझावहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको थापाले जानकारी गराए । उनका अनुसार कोरोना संक्रमणलाई पराजित गर्न आवश्यक कदम चाल्न तयार हुने कुरा प्रधानमन्त्रीले बताएका थिए । प्रधानमन्त्रीले स्वास्थ्य मन्त्रालय, सीसीएमसी र मन्त्रिपरिषदमा छलफल गरेर आगामी कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।
मंगलबार भएको छलफलमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षलगायत जनस्वास्थ्य विज्ञहरुको सहभागिता थियो ।
वि.सं.२०७७ साउन २० मंगलवार १७:५३ मा प्रकाशित































