२५ साउन, काठमाडौँ । पछिल्लो समय घुसको स्वरुप परिवर्तन हुन थालेको पाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समयमा बैंकको चेक र भौचर सहित पक्राउ गर्न थालेपछि यस्तो रहस्य खुलेको हो ।
शनिबार अख्तियारको टोलीले नेपाल विद्युत प्राधिकरण, ढल्केबर ग्रिड शाखा, धनुषा कार्यलयका प्रमुख उपप्रबन्धक (नवौँ तह) रितेश गुप्तालाई एक करोड २४ लाख ९१ हजारको चेक सहित पक्राउ गरेको हो ।
गुप्ताले भुक्तानीका लागी आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालयअन्र्तगत सञ्चालित विभिन्न योजनाको भुक्तानी (पार्टी पेमेन्ट) दिन भनी पहिले नै चेक काटेर काठमाडौँतर्फ लिएर आउदै गर्दा उनलाई नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएको अन्नपूर्णपोष्ट दैनिकमा समाचार छ ।
कार्यलयका हस्ताक्षर भइसकेका चेक तथा स्वीकृत भइसकेका सोही चेकसँग सम्बन्धित कागजातसमेत लिएर काठमाडौँ आउने क्रममा सिन्धुली, कमलालाई नगरपालिका-९ बाट उनी पक्राउ परेका हुन् ।
उक्त कार्यालयका चेक तथा त्यससँग सम्बन्धित कागजातसहित उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अधिकारीले बताए । राष्ट्रिय निकुञ्ज बाँकेका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाय पाँच लाख ५० हजार बैँक भौचर र तीन लाख ४८ हजार स्रोत नखुलेको रकमसहित साउन १९ गते पक्राउ परेका हुन् ।
वि.सं.२०७७ साउन २५ आइतवार ०९:५७ मा प्रकाशित






























