२६ साउन, काठमाडौँ । देशभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा त्रिविले संचालन गर्ने परीक्षाहरु पुन पछाडी थकेलिएका छन् । लकडाउन खुल्ला गरेसँग त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भदौ पहिलो साताबाट परीक्षा लिने भनेकोमा पुनः कोरोना संक्रमण बढ्न थालेपछि परीक्षा स्थगित गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले भदौं दोस्रो साता संचालन गर्ने भनेको सेमेस्टर प्रणालीको सबै परीक्षाहरु स्थगित गरेको हो। विश्वविद्यालयको ब्यवस्थापन, विज्ञान, इन्जिनियरिङ, मेडिकल लगायतका सबै डिन कार्यालयहरुले सूचना प्रकाशित गरि परीक्षा स्थगित भएको जनाएका छन् ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन हाल नगर्न भन्दै असोज १ बाट गर्ने प्रस्ताव गरेसँगै भदौ पहिलो, दोस्रो र तेस्रो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय स्थगित भएको जानकारी त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले दिए ।
संक्रमण बढ्दै गएपछि विद्यार्थीको भौतिक उपस्थितमा परीक्षा संचालन असंभव देखिएकोले सबै परीक्षाहरु स्थगित गरिएको उनले बताए ।
वि.सं.२०७७ साउन २६ सोमवार १८:११ मा प्रकाशित






























