२७ साउन, धनुषा । धनुषामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । विदेह नगरपालिका-८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको सङ्क्रमणबाट मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड-१९ विशेष अस्पतालमा करिब १८ दिनदेखि आइसीयूमा उपचाररत उनको गए राति कोभिड निमोनियाका कारण मृत्यु भएको कोभिड-१९ अस्पतालका संयोजक डा जामुनप्रसाद सिंहले बताए । डा सिंहका अनुसार मृतक क्षयरोगले पनि सिकिस्त थिए ।
प्रमुख जिल्ला अधिकारी भट्टराईका अनुसार मृतकको ‘ट्राभल हिस्ट्री’ छैन । प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, “मृतकको ट्राभल हिस्ट्री छैन, धनुषामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिसकेको हुनसक्छ ।”
मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने तयारी गरिरहेको प्रजिअ भट्टराईले बताए । मृतकको शव अहिले प्रादेशिक अस्पतालमै राखिएको छ । यसअघि आइतबार मृत्यु भएका एक पुरुषमा सोमबार कोरोना पुष्टि भएको थियो । योसँगै धनुषामा कोरोनाले मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । रासस
file- photo
वि.सं.२०७७ साउन २७ मंगलवार १०:०५ मा प्रकाशित






























