१२ भाद्र, काठमाडौँ । पूर्वसंचारमन्त्री तथा नेपाली काँग्रेसका नेता मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकमा आएको बाढीपहिरोमा परिवार गुमाएका ८ जना बच्चाहरुको शिक्षामा लाग्ने सबै खर्च आफैले व्यहोर्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको शिशुको शिक्षाको सम्पूर्ण खर्चको आफूले व्यहोर्ने घोषणा गरेका नेता बस्नेतले सिन्धुपाल्चोक जिल्लामा पहिरोका कारण परिवार गुमाएका ८ बच्चाहरुको शिक्षाको सब खर्चको जिम्मेवारी लिएको घोषणा गरेका हुन् ।
सिन्धुपाल्चोकको जुगत गाउँपालिका २ स्थिति लिदि गाउँमा आएको पहिरोबाट अभिभावक गुमाएकाहरु स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छि दोङ र नाम नखुलेको साङबहादुर दोङकी छोरी र आषाढ २५ गते जम्बुको बाढिपहिरोबाट ५ जना परिवार गुमाएकी छिरिङ गोलेसमेत गरी ८ बच्चाहरुको १२ कक्षासम्मको पठनपाठनको व्यवस्थ गर्ने जिम्मा आफूले लिएको घोषणा गरेका छन् ।
ती बालबालिकाहरुलाई यसै शैक्षिक सत्रबाट काठमाडौँ उपत्यका भित्र रहेका स्कुलका होस्टलमा राखेर पढाउने व्यवस्था गरिने भएकाले ती बालबालिकालाई यथाशिघ्र सम्पर्कमा आउन वा ल्याइदिन सम्बन्धित व्यक्ति वा उनीहरुका आफन्तलाई आग्रह गरेका छन् ।
वि.सं.२०७७ भदौ १२ शुक्रवार १२:३१ मा प्रकाशित






























