काठमाडौं । पूर्वी लद्दाख क्षेत्रमा भारत र चीनबीच तनाव लगातार बढिरहेको छ । गएको रात भारतीय सेना र चिनियाँ सेनाबीच गोलीसमेत हानाहान भएको कुरा अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । गोली हानाहानमा के–कति क्षति भयो भन्ने बारे भने अहिलेसम्म स्पष्ट भएको छैन् ।
गोली हानाहानको घटनामा भारतीय पक्षले चिनियाँ सेनाको तर्फबाट पहिलो फायरिङ्ग भएको दाबी गरेको छ भने चीनले भारतले पहिलो फायरिङ्ग सुरु गरेको बताएको छ । भारतीय सञ्चारमाध्यमले चिनियाँ सैन्य समुहले भारतीय चौकी तर्फ घुसपैठ गर्दै गोली चलाएको उल्लेख गरेका छन् ।
यता चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले भने भारतीय सेनाले गैरकानूनी तरिकाले सीमामा घुसेर गोली चलाएको उल्लेख गरेको छ । ग्लोबल टाइम्सले चिनियाँ सेनाको पश्चिम कमाण्डका प्रवक्तालाई उद्धत गर्दै भारतीय पक्षले सुरु गरेको गोलीबारी अहिले नियन्त्रणमा रहेको बताएको छ ।
४५ वर्षअघि गोली हानाहान भएको थियो
भारत र चीनबीच सीमालाई लिएर भईरहेको तनाव कम हुने संकेत देखिएको छैन् । सोमबार ४६ वर्षपश्चात देशबीच गोली हानाहानको घटनासमेत हुन पुग्यो । लद्दाख क्षेत्रमा भारत–चीन सीमामा पछिल्लो पटक सन् १९७५ मा गोली चलेको थियो । त्यस समय दुवै तर्फका धेरै सैन्यहरुको ज्यान गएको थियो ।
गोली हानाहानको घटनापश्चात सन् १९९३ भारत र चीनबीच सीमाबारे सम्झौतासमेत हुन पुग्यो । जुन सम्झौतासँगै भारत–चीन सीमा क्षेत्रमा गोली चलेको थिएन । गत जुन १५ मा गलवन घाटी क्षेत्रमा भएको झडपमा पनि गोली चलेको थियो ।
तीन महिनादेखि पूर्वी लद्दाखमा लगातार झडप
यसअघि १५ जुनमा लद्दाखको गलवान क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच हिंस्रक झडप भएको थियो । जसमा भारतर्फबाट २० सैनिक जवानको ज्यान गएको थियो ।
उक्त घटनामा चिनियाँ पक्षतर्फ के–कतिको ज्यान गयो भन्ने कुरा अहिलेसम्म पनि पुष्टी भएको छैन् । भारतीय पक्षले उक्त झडपमा ३५ चिनियाँ सैन्यको ज्यान गएको दाबी गर्दै आएको छ ।
भारतीय र चिनियाँ सैनिक बीच पछिल्लो साढे तीन महिनादेखि पूर्वी लद्दाखमा निरन्तर तनाव छ । दुई देशबीचको तनावका बीच गत २९ अगस्ट रात पनि उक्त क्षेत्रमा झडप भएको थियो ।
सीमा क्षेत्रलाई लिएर भएको तनावमा दुई पक्षबीच पटक–पटक वार्ता भएपनि समाधान निस्कन सकेको छैन् । एजेन्सीकाे सहयाेगमा
वि.सं.२०७७ भदौ २३ मंगलवार १२:२३ मा प्रकाशित






























