२४ भदौ,रौतहट । रौतहटमा एकैदिन २० जना प्रहरीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रमुख नायव उपरीक्षक(डीएसपी) सहित २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको हो ।
चन्द्रनिगाहपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मातृका चालिसेका अनुसार इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी हेमबहादुर शाहीसहित २० प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकोे हो ।
गत शुक्रबार प्रहरी र स्थानीयसहित ४१ जनाको स्वाब संकलन गरेर परीक्षणको लागि पठाइएकोमा बुधवार बिहान आएको रिपोर्टमा २० जना प्रहरीसहित २८ जनाको कोरोना रिपोर्ट पोजिटिभ आएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए ।
संक्रमण पुष्टि भएका प्रहरीलाई चन्द्रपुर– २ मा रहेको आइसोलेसनमा पठाइएको जानकारी दिँदै एसपी शाहले शान्ति, सुरक्षालगायत इलाका प्रहरी कार्यालयबाट प्रदान गरिने सेवामा कुनै कमी हुन नदिन इलाका प्रहरी कार्यालयमा जिल्लाबाट थप टोली पठाइएको बताए ।
यसअघि मंगलबार इलाका प्रहरी कार्यालय गरुडाका ७ जना थुनुवामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले दिउँसो ३ बजे दिएको प्रतिवेदन अनुसार हालसम्म रौतहटमा १६८२ जनामा कोरोना पोजेटिभ देखिएको र १८ हजार १७६ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने १२११ जनाको रिपोर्ट आउन बाँकी छ ।
वि.सं.२०७७ भदौ २४ बुधवार १५:४६ मा प्रकाशित






























