काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिएकोप्रति साझा पार्टीले आपत्ति जनाएको छ । साझा पार्टीले प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित गौतमलाई राष्ट्रिय सभामा लगिनु विकृत बनाइएको लोकतन्त्रको घातक बिडम्बना भएको टिप्पणी गरेको छ ।
‘प्रतिनिधि सभाको पछिल्लो निर्वाचनमा पराजित नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभामा लगिएकोप्रति साझा पार्टी गम्भीर आपत्ति व्यक्त गर्दछ’ साझा पार्टीले शुक्रबार सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘राष्ट्रिय जीवनमा ख्यातिप्राप्त व्यक्ति तथा विषयगत विज्ञहरू मनोनयका लागि संविधानमा व्यवस्था गरिएको कोटामा चुनाव हारेका, आमरूपमा भ्रष्टाचारका गम्भीर आरोपहरू लागेका, गरिब जनताको नाममा ‘कम्युनिष्ट’ राजनीति गरेर आफ्नो जीवन आलिशान बनाएका गौतमलाई राष्ट्रिय सभामा लैजानु विकृत बनाइएको नेपालको लोकतन्त्रको घातक विडम्बना हो।’
सरकारको पछिल्लो कदमले “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको साझा पार्टीको धारणा छ ।
‘यो आम नागरिकको अपेक्षामाथिको ठाडो उपहास हो, लोकतन्त्रको मूल्यमान्यता र संविधानको भावनामाथिको निर्मम प्रहार हो। यसबाट भ्रष्ट, अनैतिक, अनुदार र तानाशाही उन्मुख सरकारले जनतालाई पुनस् एक पटक “तिमी कराउँदै गर, हामीलाई केही फरक पर्दैन” भन्ने हठी सन्देश दिएको छ’ साझा पार्टीले भनेका छ, ‘संविधानको संरक्षक राष्ट्रपतिले यस तथ्यमाथि आँखा चिम्लिएर राष्ट्रिय सभाको गरिमा थप खस्काउने कदमलाई ठाडै सदर गर्नु त्यत्तिकै विडम्वनापूर्ण विषय हो।’
साझा पार्टीले संविधानका छिद्र खोजेर गौतमलाई मन्त्री नबनाउन पनि सरकारसँग माग गरेको छ । साझाले भनेको छ , ‘संविधानको धारा ७८ को उपधारा ४ ले प्रतिनिधि सभाको निर्वाचनमा पराजित व्यक्तिलाई मन्त्री बन्न रोक लगाएको अवस्थामा चर्चामा रहेजस्तो अनेक छिद्र खोजेर गौतमलाई मन्त्रीमण्डलमा नलैजान साझा पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह पनि गर्दछ, नागरिकप्रतिको चरम वेवास्ताका कारण जनआक्रोश अत्यन्त चुलिएको समयमा नागरिकलाई झनै चिढ्याईए त्यसले मुलुकलाई अकल्पनीय राजनीतिक दुर्घटनाको बाटोमा लैजान सक्नेतर्फ हामी सरकारलाई समयमै सचेत गराउछौँ।’
सत्तारुढ नेकपाका उपाध्यक्षसमेत रहेका बामदेव गौतम बिहिबार राष्ट्रिय सभा सदस्यका रुपमा मनोनित भएका थिए । उनलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्यका रुपमा मनोनित गरेकी थिइन् । २०७४ मा प्रतिनिधि सभाको निर्वाचनमा गौतम बर्दिया क्षेत्र नं. १ बाट नराम्रोसँग पराजित भएका थिए ।
वि.सं.२०७७ असोज २ शुक्रवार १३:०९ मा प्रकाशित






























