काठमाडौं । पार्टी एकतापश्चात पनि पूर्वएमालेका शीर्ष नेताहरु पार्टी कार्यालय पेरिसडाँडामा खासै जाँदैनन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली त पेरिसडाँडा जानै चाहदैंनन् । पार्टी अध्यक्षको हैसियतमा पेरिसडाँडामा उनको छुट्टै कार्यकक्ष भएपनि उनी आफ्नो कार्यकक्षमा छिरेकै छैनन् ।
पार्टी एकता घोषणाको भोलीपल्ट २०७५ जेठ ४ मा उनलाई पेरिसडाँडामा पूर्वमाओवादीका नेताहरुले भव्य स्वागत गरेका थिए । अध्यक्षको हैसियतमा उनका लागि बनाइएको कार्यकक्षमा उनको छोटो उपस्थिति थियो । फोटोसेशनपश्चात उनी कार्यकक्षबाट लगत्तै बाहिरिएका थिए ।
पेरिसडाँडामा हुने कार्यक्रममा ओली उपस्थित हुँदैनन्
पार्टी एकतापश्चात पार्टीको प्राय बैठकहरु धुम्बाराहीस्थित पार्टी कार्यालय र प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेको छ । ओलीको मृगौला प्रत्यारोपणपछि सबै बैठकहरु प्रधानमन्त्री निवासमा नै हुने गरेका छन् ।
असार १० देखि भदौ २६ सम्म चलेको स्थायी समिति बैठक पनि प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे थियाे ।
पार्टी एकतापश्चात केहि जनवर्गीय संगठनहरुको भेला तथा कार्यक्रमहरु पेरिसडाँडामा भएका छन् । पेरिसडाँडामा विशेष गरि युवा संगठन र मजदुर संगठनको कार्यक्रमहरु हुने गरेका छन् । तर, ति कार्यक्रमहरुमा भने प्रधानमन्त्री ओलीको उपस्थिति रहेको छैन् ।
प्रधानमन्त्री ओलीले सकभर पेरिसडाँडामा कार्यक्रम गराउन अनुमति नदिने र दिए पनि आफुँ उपस्थिति नहुने गरेको देखिन्छ । पेरिसडाँडामा वर्षेपिच्छे हुने जनयुद्व विशेष कार्यक्रममा पनि उनको उपस्थिति रहँदैन् ।
२०७५ फागुन १ गते पनि नेकपाको ब्यानरमा ‘सहिदहरूको सम्मान’ नाम दिएर आयोजना गरियो । सो कार्यक्रममा पनि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल सहभागी हुने बताइएको थियो । तर ओली सहभागी भएनन्, दाहाल मात्रै सहभागी भए । तत्कालीन एमालेबाट हाल नेकपाका महासचिव विष्णु पौडेल सहभागी थिए ।

ओलीको बाध्यकारी उपस्थिति
पेरिसडाँडा छिरेको २८ महिनापछि ओली पुन आज पेसिडाँडाका पुगेका छन् । पार्टीभित्रको निकै गहिरो विवादपछि पार्टी एकताको सन्देश दिन वाध्यकारी रुपमा उनी पेरिसडाँडा पुगेका हुन् ।
आजको बैठकमा पनि ओलीको सहभागीताको टुंगो करिब अन्तिम समय मात्रै लागेको थियो । ओलीको उपस्थिति ढिलो गरि भएको कारण पनि आइतबारको सचिवालय बैठक पनि केहि ढिलो गरि सुरु भएको थियो ।
वि.सं.२०७७ असोज ४ आइतवार १३:५१ मा प्रकाशित




























