असोज ११ । विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ ।
गैरआवासीय नेपाली सङ्घका अनुसार कुवेतमा पाँच, साउदी अरबमा १४, युएईमा एक, युगान्डामा एक गरी शनिबार साँझसम्म १७ देशमा रहेका २६५ नेपालीको कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गएको कोभिड– उच्चस्तरीय समिति, गैरआवासीय नेपाली सङ्घका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।
गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । तीमध्ये ३५ हजार ७८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यो कूल सङ्क्रमितमध्ये ९२ प्रतिशत हो । समितिका संयोजक डा सञ्जीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, युएई, संयुक्त राज्य अमेरिकामा रहेका नेपालीमा नयाँ कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
यस्तै नेपालमा मात्र ७१ हजार ८२१ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने तीमध्ये ५३ हजार १३ कोरोनामुक्त भएका छन् । यो कूल सङ्क्रमितको ७१ प्रतिशत हो । हालसम्म नेपालमा ४६७ जनाको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ । कोरोना भाइरसकै कारण नेपालसहित विश्वभर छरिएका नेपालीमध्ये ७३२ को निधन भएको छ । यस्तै विश्वभर एक लाख १० हजार ६० नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ भने ती मध्ये ८८ हजार ९१ जनाको कोरोना भाइरसबाट मुक्त भएका छन् ।
वि.सं.२०७७ असोज ११ आइतवार १५:११ मा प्रकाशित



























