१४ असोज । कोरोना भाइरस सङक्रमणका कारण हालसम्म सुदूरपश्चिम प्रदेशमा १५ जनाको मृत्यु भएको छ । यहाँका छ जिल्लामा गरी हालसम्म सङक्रमणबाट १५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । “अरु प्रदेशको तुलनामा हाम्रोमा मृत्युदर कम देखिएको छ ।” उनले भने“ कोरोनाबाट निको हुने दर पनि यहाँ राम्रो छ ।”
सोमबारसम्म सुदूरपश्चिममा सात हजार ११८ जनामा कोरोना सङक्रमण पुष्टि भएकोमा छ हजार १०१ जना निको भइसकेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । कोरोनाबाट सबैभन्दा बढी कैलालीमा सात जनाको मृत्यु भएको छ । बझाङ्ग, अछाम र बाजुरामा दुई/दुई जनाको र डडेल्धुरा र बैतडीमा एक/एक जनाको मृत्यु भएको निर्देशनालयका सम्र्पक व्यक्ति जोशीले जानकारी दिए । “बिरामीको प्रभावकारी व्यवस्थापनका कारण पनि यहाँ मृत्युदर कम भएको हो ।” उनले भने“प्रयोगशाला बढाएर सङक्रमण परीक्षणको दायरा पनि दिनानुदिन बढ्दै छ ।” उनले स्वास्थ्य निर्देशनालयले अन्य प्रदेशलाई पनि कोरोना परीक्षणका लागि स्वाब यहाँ बढाउन समेत आग्रह गरेको बताए ।
“अहिले हामीसित छ वटा स्थानमा प्रयोगशाला सञ्चालनमा आएको छ ।” उनले भने,“अछाम र कञ्चनपुरमा पनि पिसीआर मेसिन जडानको तयारीमा छ ।”
त्यसैगरी सुदूरपश्चिममा हालसम्म गम्भीर खालका सङ्क्रमितको आइसियु र भेन्टिलेटरमा समेत उपचार भइरहेको छ । यहाँको कञ्चनपुरस्थित महाकाली अस्पतालमा दुई जना सङक्रमितको आइसियुमा उपचार भइरहेको छ । एक जनाको कैलालीमा भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालय जनाएको छ । यहाँ एक हजार १ कोरानाका सक्रिय बिरामी रहेका छन् ।
मृत्यु दर वृद्धि
सुदूरपश्चिम प्रदेशमा असोज महिना शुरु भएसँगै कोरोना सङ्क्रमितको मृत्यु दर बढ्न थालेको छ । यो महिनामा हालसम्म कैलालीमा दुई र अछाम,डडेलधुरामा एक/एक जना गरी चार जनाको मृत्यु भएको प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए ।
यस बाहेक कैलालीका सङ्क्रमित थप एक व्यक्तिको केही दिन अघि चितवन अस्पतालमा मृत्यु भएको थियो । ती मृतकको मन्त्रालयको तथ्याङ्कमा समावेश गरिएको छैन । उनले भने‘‘पछिल्ला दिनमा कोरोनाको लोकल ट्रान्समिसन दर बढेको छ ।” प्रदेशमा हालसम्म कैलाली जिल्लाका आठ जना,अछाम, बझाङ र बाजुराका दुई/दुई र डडेलधुरा र बैतडीका एक/एक जना समेत गरी १६ जना सङ्क्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र बैतडी जिल्लाका गरी थप ३२ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा आज सम्म कूल सङ्क्रमित सात हजार १५० जना पुगेको छ ।
यसै बीच कैलालीको गौरीगंगा नगरपालिकाका कर्मचारीमा कोरोनाको सङ्क्रमण देखिएपछि नगरपालिकाले आजदेखि २० गते सम्मका लागि अत्यावश्यक वाहेकका सेवा बन्द गरेको छ । नगरपालिकाद्वारा जारी सूचनामा कोरोनाको जोखिम बढेकोले अत्यावश्यक वाहेकका सेवा बन्द गर्नु परेको उल्लेख गरिएको छ । नगरवासीलाई कोरोना फैलिन नदिन सरकारले जारी गरेको स्वाथ्यका मापदण्ड अपनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।(रासस)
वि.सं.२०७७ असोज १४ बुधवार ०८:४६ मा प्रकाशित






























