काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादी आन्दोलनका नेताहरु मोहन वैद्य ‘किरण’, नेत्र विक्रम चन्द ‘विप्लव’ र बाबुराम भट्टराईलाई मुलधारको पार्टीमा फर्किन आग्रह गरेका छन् । बिहिबार विभिन्न पार्टी छोडेर नेकपा प्रवेश गरेका नेताहरुलाई स्वागत गर्दै प्रचण्डले यस्तो भनेका हुन् ।
उनले नमिलेका विवाद पनि सँगै बसेर मिलाउन सकिने बताए । ‘अरु जनमत पनि हामीसँग जोडिन आएको छु, उनले भने, ‘अब किरणजीले, बाबुरामले र विप्लवजीले पनि मूलधारातिरै फर्किनै पर्छ। यो नै जनतको हितमा हुन्छ। विवादहरु हामी सँगै बसेर मिलाउँला।’
उनले कम्युनिष्टहरु विभाजन हुँदा समस्या भएको बताए । ‘हामी विभाजित भएकैले समस्या भयो’, उनले भने, ‘कम्युनिष्ट फुटेकैले कांग्रेसले सरकार चलायो। सजिलै दुईतिहाइ आइहाल्छ भनेर सोच्नु मनोगत थियो, एकतामा त्यति ठूलो तागत हुने रहेछ। कम्युनिष्ट एकताको तागत हामीले विश्वलाई देखाइसकेका छौं।’
कम्युनिष्टको पक्षमा देखिएको जनमत जोगाउन पनि एक हुनुपर्ने भनाई प्रचण्डको छ । ‘एकतामा त्यति ठूलो तागत हुँदो रहेछ, संसारभरका कम्युनिस्टहरु रक्षात्मक भएर कमजोर भएको बेलामा नेपालमा यति ठूलो जनमत प्राप्त गर्ने कुरा त्यतिकै भएको हो, यसलाई बचाउने र सुदृढ गर्ने कुरा अब हामी सबैको काँधमा जिम्मेवारी आएको छ’, उनले भने ।
वि.सं.२०७७ असोज १५ बिहीवार १७:४७ मा प्रकाशित





























