
सानोबाबु सुनुवार
कार्यकारी निर्देशक
एड्भेन्चर प्याराग्लाइडिङ स्कुलस्याङ्जाको स्वरेक गाविस स्थित स्वरेक मैदान अहिले पर्यटन क्षेत्रको रुपमा विकास हुँदैछ । अत्यन्तै मनोमोहक र पहाडी भुगाभ रहेको स्वरेक मैदानमा रामेछापका एक साहसी युवा सानोबाबु सुनुवार प्याराग्लाइडिङको विकास र विस्तारमा लागेका छन् । दक्षिण एशीयाकै साहसी व्यक्तिको अवार्ड पाउन सफल सुनुवार दक्षीण एसियाकै पहिलो प्याराग्लाइडिङ स्कुल खोल्ने व्यक्ति हुन् । स्कुल सञ्चालन भएसँगै स्वरेकमा पर्यटकीय आकर्षण समेत बढेको छ । स्याङजाको दक्षिणपपश्चिम भेगमा रहेको स्वरेक मैदानलाई प्याराग्लाइडिङको गन्तब्य बनाउन अरोरात्र खटिरहेका सुनुवारसँग संसारन्युज डटकमका लागि संगीता पनेरुले गरेको कुराकानीको अंश:
पछिल्लो समय प्याराग्लाइडिङप्रति पर्यटकको आकर्षण कस्तो छ ?
व्यापक छ । नेपालमा मात्र नभएर विश्वभरी नै प्याराग्लाइड्रिप्रति पर्यटक आकर्षित हुन्छन् । विना इन्जिन खुला आकाशमा उड्न पाउनु भनेको रमाइलो गर्वको खेल हो । विश्वको उत्कृष्ट ठाउँमध्ये नेपाल १० औं स्थानमा पर्छ । डाँडाकाँडाले ढाकिएको नेपालमा आन्तरिक तथा वाह्य पर्यटकको आकर्षण प्याराग्लाइडिङप्रति धेरै नै छ ।
कति समय भयो तपाईले स्वरेकमा प्याराग्लाइडिङ संचालन गरेको ?
मैले सुरुवात २००७ सालमा गरेको हो । त्यत्तिबेला राज्यबाट स्वीकृति लिएको थिइन । जब मैले २०११ मा राज्यबाट स्वीकृति लिएर व्यवसायिक रुपमा उडान संचालन गरे तर सोचें जस्तो उपलब्धि हाँसिल हुन सकेन । कोही पनि आएनन् प्याराग्लाइडिङ गर्न । त्यसो भएपछि मैले २०१६ मा बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलको स्थापना गरें । अहिले प्याग्लाइडिङ गर्ने भन्दा पनि पाइलट उत्पादन गर्ने काम गरिरहेको छु ।
किन आएनन् प्याराग्लाइडिङको लागि स्वरेकमा मान्छे ?
स्वरेक स्याङ्जाको सबैभन्दा माथि टापुमा पर्छ । त्यसमा पनि दक्षिणी भेग । त्यहाँ कुनै पक्की बाटो छैन । मोटरसाइकल र साना गाडी पु¥याउन पनि हम्मे हम्मे पर्छ । बल्ल बल्ल पुग्यो राम्रो होटलको व्यवस्था छैन । खानेपानीको उत्तिकै अभाव छ । हरेक मानिस सहज वातावरण खोज्छ असहज भएपछि को जान्छ र ? तपाई हामी पनि जाँदैनौ नी ! यदि बाटो पक्की हुने र पानीको सहजता हुने हो भने स्वरेक मैदान बन्दीपुर र नगरकोटभन्दा कम हुँदैन ।
स्वरेकको पर्यटनको विकास र विस्तारको लागि राज्यले ध्यान दिन नसकेको हो त ?
होइन । राज्यलाई सबै दोष थुपार्नु पर्छ जस्तो मलाई लाग्दैन । हेर्ने हो भने जहाँसम्म लाग्छ स्याङ्जामा जति विकास अरु जिल्लामा भएको छैन । स्वरेकको पर्यटन विकासको लागि सबैभन्दा पहिले त स्थानीय सक्रिय हुनुपर्छ । तिर्खा लागेको मान्छेले इनार धाउनु पर्छ भन्ने मेरो मान्यता हो । त्यसो भन्दैमा सबै स्थानीयले मात्र गुर्नपर्छ राज्यले केही गर्नुपर्दैन भन्ने गलत अर्थ नलागोस । स्थानीय सक्रिय भएर राज्यलाई झकझकाउन सक्ने हो भने स्वरेकको पर्यटन विकास र विस्तार गर्न सकिन्छ ।
पोखरामा अन्र्तराष्ट्रिय स्तरको क्षेत्रीय विमानस्थल बनेसँगै सराङ्कोटको प्याराग्लाइडिङलाई अन्यत्र सार्ने कुरा मन्त्रीपरिषद्बाट आएको छ के सराङ्कोटको प्याराग्लाइडिङलाई स्वरेकमा सार्न सकिँदैन ?
यो अलि असम्भव छ जस्तो लाग्छ मलाई । सकेसम्म मिलाएर सराङ्कोटको प्याराग्लानइडिङलाई त्यही व्यवस्थापना गर्नु उचित हुने देख्छु म । किनकी त्यहाँ दैनिक हजारौं आन्तरिक तथा वाह्य पर्यटक आउँछन् । पोखरा गइसकेपछि एकचोटी प्याराग्लाइडिङ गरौं भन्ने धेरैको सोंच हुन्छ । यदि त्यहाँको प्याराग्लाइडिङ अन्त सार्ने हो भने कोही मानिस धाएर प्याराग्लाइडिङ गर्न मात्र त्यो ठाउँमा जाँदैनन् । स्वरेक, म्याग्दी, पर्वत लगायत सार्न त जहाँ पनि सकिएला तर सराङ्कोटको जति मानिस त्यहाँ आउँछन् जस्तो लाग्दैन ।
नेपालमा अँझै पनि प्याराग्लाइडिङ पाइलटको अभाव छ भनिन्छ कहिले सम्म यो अभाव हट्छ होला ?
हो नेपालमा पाइलटको अभाव छ । फेरि पाइलट आज पढेर भोली बनिहाल्ने कुरा पनि होइन । एउटा कुशल पाइलट बन्न कम्तिमा पनि दुई वर्ष अभ्यास गर्नुपर्छ । तर अवको दुई वर्षमा प्याराग्लाइडिङ क्षेत्रमा पाइलटको अभाव अट्ने विश्वास छ ।
बाबु एड्भेन्चर प्याराग्लाइडिङ स्कुलबाट कति विद्यार्थीलाई दक्ष पाइलट बनाउनु भयो ?
मैले स्कुल खोलेको जम्मा १ वर्ष भयो । अहिले २० देखि ३० विद्यार्थी अध्ययन गरिरहेका छन् । त्यस मध्ये केही विदेशी पनि छन् । त्यसैले मैले संचालन गरेको स्कुलबाट पाइलट उत्पादन बनिसकेका छैनन् ।
तपाईको अवको बाटो कता हो ?
अहिले सम्म मैले कतै बाटो देखेको छैन । ६÷७ वर्षदेखि स्वरेकमा बसें । यहि समाजको जन्ती र मलामी बनिसकें । मेरो पहिलो व्यवसायिक सेवा पनि यहीबाट सुरु भएको हुनाले अन्तसम्म यही बस्छु । यहीको पर्यटन क्षेत्रको विकासमा लाग्छु भन्ने हो । तर उपाय केही लागेन भने त अर्का बाटो पनि अपनाउनु पर्छ होला ।
वि.सं.२०७३ पुस २२ शुक्रवार ०७:५३ मा प्रकाशित