काठमाडौं । २०७१ माघ ५ को मध्यरात संविधान सभा बैठक स्थलमा अप्रत्यासित कुर्सी तोडफोड र हानाहानको घटना घट्यो । उक्त समय बहुमत पक्षले गर्न लागेको निर्णयविरुद्व तत्कालिन एमाओवादीका सभासदले विरोध गर्दै कुर्सी हानाहान गरेका थिए ।
एमाओवादी सभासदहरुले कुर्सी तोडफोड गर्दै रोष्टम तिर छिर्न खोजेपछि अवस्था तनावपूर्णं बनेको थियो । उक्त घटनामा केहि मर्यादापालक पनि घाईते भएका थिए ।
तत्कालिन माओवादीका सभासदहरुले संविधान सभा भवनभित्र देखाएको त्यो ताण्डव सोमबार प्रदेश ५ को प्रदेश सभा स्थलमा दोहोरिएको छ । तत्कालिन एमाओवादीका सभासदले घटाएको त्यस्तै घटना अहिलेको नेपाली कांग्रेसका सांसदले घटाएका छन् ।
राजधानी तोक्ने विषयमा असहमत नेपाली कांग्रेसका सांसदहरुले प्रदेश सभाको बैठक स्थलमा कुर्सी र माईक तोडफोड गरेर ताण्डव देखाएका हुन् ।
कसरी घट्यो कुर्सी तोडफोडको घटना ?
प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी हालसम्म पनि तोकेको छैन् । प्रदेश सरकारको नेतृत्वमा रहेको नेकपाले आन्तरिक रुपमा दाङको भालुवाङलाई स्थायी राजधानी तोक्ने निर्णय गरेको छ । तर, नेकपाभित्र पनि उक्त निर्णयप्रति व्यापक असहमती छ ।
नेकपाभित्रको असहमतीका कारण पनि सोमबारको संसद बैठक पनि निर्धारित समयमा सुरु भएको थिएन ।
ढिलो गरि सुरु भएको बैठकमा असहमत कांग्रेस सांसदहरु विरोधमा उत्रिएका थिए । विरोधमा उत्रिएका कांग्रेस सांसदहरुले आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई नाराबाजी गरेर प्रस्ताव नै पेस गर्न दिएनन् ।
कांग्रेस सांसदहरुको नाराबाजीका बीच पनि संसद अगाडि बढाउन खोजिएपछि कुर्सी तोडफोडको घटना घटेको हो । कांग्रेस सांसदको अवरोधका बीच पनि बैठक अगाडि बढाउन खोजिएपछि कांग्रेस सांसद तोडफोडमा उत्रिएका थिए । उनीहरुले कुर्सी र माईक तोडफोड गरेका छन् ।
सांसद खाँले तोडफोडको सुरुवात गरेका थिए
कुर्ची तोडफोडको सुरुवात रुपन्देही–४ ‘ख’बाट निर्वाचित कांग्रेस सांसद वसिउद्धिन खाँले गरेका थिए । विरोधका बीच बैठक सञ्चालन गर्न खोजिएपछि उनले कुर्सी टेबलमा लगेर भाँच्न थाले ।
खाँले सुरु गरेसँगै कांग्रेसकै रुपन्देही ४ ‘क’का अष्टभूजा पाठक र नवलपरासी–२‘ख’का वैजनाथ कलवार कुर्सी भाँच्न तम्सीएका थिए । उनीहरुले कुर्सी र केहि माइक पनि भाँचेका छन् ।
भिडियाे हेर्नुहाेस्
वि.सं.२०७७ असोज १९ सोमवार १९:२० मा प्रकाशित




























