काठमाडौं । प्रदेश गठनको तीन वर्ष पुग्नै लाग्दा प्रदेश ५ ले नाम र राजधानी टुंग्याएको छ । मंगलबार भएको मतदानले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्ताव दुई तिहाईले पास गरेको हो ।
मतदानमा प्रस्तावको लुम्बिनी नाम राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत परेको छ । त्यस्तै निकै विवादमा रहेको स्थायी राजधानी तोक्ने विषयमा पनि दुई तिहाई बहुमतले पारित भएको छ । मंगलबार भएको मतदानमा स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावमा ६९ मत परेको छ भने विपक्षमा १३ मत खसेको छ ।
प्रदेशको नाममा सत्तारुढ पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी कांग्रेस सहमत थिए । तर, कांग्रेस प्रदेशको स्थायी राजधानी भालवाङ राख्ने प्रस्तावको भने विपक्षमा थियो । कांग्रेसले राजधानीसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो ।
बैठकबाट पारित भएसँगै अब प्रदेशको नाम लुम्बिनी र प्रदेशको स्थायी राजधानी दाङ जिल्लाको राप्ती उपत्यका देउखुरी भालुवाङ रहनेछ ।
तत्कालिन कांग्रेस सरकारले प्रदेशको राजधानी अस्थायी रुपमा तोकेको थियो । २०७४ मा गठन भएको प्रदेश सभाले झण्ड ३ वर्ष पुग्दासमेत राजधानी तोक्न सकेको थिएन ।
वि.सं.२०७७ असोज २० मंगलवार १७:१५ मा प्रकाशित






























