काठमाडौं । सन् २०२२ को लागि डाइभर्सिटी भिसा (डिभी) आजदेखि भर्न सकिने भएको छ । अमेरिकी दूतावासका अनुसार बुधबार राती ९ बजेदेखि अनलाई आवेदन दिन सकिनेछ । डिभि आगामी नोभेम्बर १० सम्म भर्न सकिने जनाइएको छ ।
आवेदन अनलाईनमार्फत आफैंले भर्न सकिनेछ । आवेदन एउटाभन्दा धेरै नभर्न दूतावासले सुझाव दिएको छ ।
आवेदन कसरी भर्ने ? भर्दा ध्यान दिनुपर्ने कुरा
• फारम अनलाइन भर्नुपर्ने : सन् २०2२ को डाइभर्सिटी भिसा कार्यक्रमका लागि आवेदकहरूले दर्ता अवधिमा dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
• पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्नी र आवेदनको समयमा २१ वर्ष पुरा नभएका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू कार्यक्रमका लागि अयोग्य ठहरिनेछन् ।
• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा आवेदन अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । कृपया ध्यान दिनुहोला : फोटो खिच्दा आवेदकले चश्मा लगाउनु हुँदैन ।
• बहालवाला, म्याद समाप्त नभएको राहदानीको विवरण आवश्यक : यस वर्षको आवेदनमा मुख्य आवेदकको राहदानी नम्बर, जारी भएको देश र राहदानीको म्याद समाप्त हुने मिति समावेश गर्नै पर्नेछ ।
• आफ्नो कन्फर्मेशन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
• आफ्नो कन्फर्मेशन नम्बर कसैलाई पनि नदिनुहोस् ।
• तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे ८, २०२१ (२०७८ वैशाख २५) वा त्यसपछि dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेशन नम्बर प्रविष्ट गर्नु हो ।
वि.सं.२०७७ असोज २१ बुधवार १७:२९ मा प्रकाशित




























