२८ असोज, पर्वत । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गर्दै पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारको सुरक्षा संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडान गरिएको छ । विगत चार वर्षअघिदेखि बिग्रेका क्यामेरा मर्मत गरी सिसीटिभी मङ्गलबारदेखि सञ्चालनमा ल्याइएको हो । कुश्मा नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याएका हुन् । कुश्मामा २० वटा संवेदनशील ठाउँमा क्यामेरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए । “सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामेरा जडान गरिएको छ”, उनले भने, “चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पु¥याउने छ ।”
कुश्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्पलगायत ठाउँमा क्यामेरा जडान गरिएको छ । लोकतान्त्रिक चोक, प्रगतिचोक, मैत्रीचोक, आचार्यचोक, दुर्लुङचोक, शिवालयचोक, बन्जीचोक, अस्पताल चोकलगायत स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । यसअघि विसं २०७२ मा राखिएकामध्ये पाँचवटा क्यामेरा मर्मत गरी पुनः सञ्चालन गरिएको छ भने १५ क्यामेरा कुश्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिए पनि बजार क्षेत्रलाई केन्द्रित गरेर व्यावसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामेरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताए ।
वि.सं.२०७७ असोज २८ बुधवार १०:२२ मा प्रकाशित






























