
गोरखा मनकामना,
झ्याप्पै माया लाइहालौ भनेनी
ठीक छैन जमाना ।
काठमाडौँबाट गोर्खाको लागि छुटेको गाडीमा नागढुंगामा एक गन्र्धव चढ्छन् । चढ्ने बित्तिकै उनले सारङ्गी रेट्दै विभिन्न टुक्कामा गीत गाउन सुरु गरे । मनछुने उनको गीत सुनेर यात्रुहरूले कोहिले १ सय कोहिले ५०, २० दिन सुरु गरी हाले । ७ मिनेट पनि नुहँदै उनको हातमा झण्डै एकहजार रुपैयाँ जम्मा भयो ।
काठमाडौबाट छुट्ने गाडीमा यस्ता टुक्का गीत धेरै गाउँछन् बुटवलका लालबहादुर गन्धर्व । गोरखा धारापानी घर भइ रुपन्देहीको सैनामैनामा बस्ने गन्धर्व काठमाडौंमा आफ्नो दैनिकी यसरी नै चलेको छ भन्न कत्ति पनि हिच्किचाउँदैनन् । १३ वर्षको उमेरदेखि गाउन थालेका गन्धर्व अहिले ४९ वर्ष पुगिसके । उनले दिनमा झण्डै १०–१२ वटा गाडीमा चढेर यात्रुहरूलाई सारंगी बजाउँदै गीतका माध्यमबाट मनोरन्जन दिन्छन् । उनले दैनिक २५ सय भन्दा बढी कमाउँछन् । यस हिसाबले उनको मासिक कमाई ६०÷७० हजार कमाइ हुन्छ । यो पैसा बेलुका जाँड रक्सी खाएर त सक्नु हुन्न नी भन्ने सोधाईमा उनले भने “नाई म त प्रेसर र सुगरको बिरामी हुँ, यहि पैसाले कान्छो छोरालाई काठमाडौँको बोडिङ्गमा पढाएको छु । बुढाबुढी पालिएका छौँ ।”
बिग्रीयो नेपाल मदिरा पानले
महँगो भयो सबैले खानाले
गोरखा मनकामना ।
गन्धर्व समाज काठमाडौंको कोषाध्यक्ष समेत रहेका गन्धर्व भन्छन् “हेर्नुस्, सानो होस या ठूलो आफ्नो हातमा शिप भएपछि लाज मान्नु हुँदैन, परिवार पाल्न सकिन्छ तर, जाँगर चाहिँ गर्नुपर्छ ।” उनको कमाई सस्तो श्रममा विदेशीने हाम्रा युवा जमातको लागि उदाहरणीय छ भन्दा फरक पर्दैन । हातमा सीप हुने र लाज नमान्ने हो भने विदेशीने लर्को कम गर्न सकिन्छ भन्ने कुरामा शायद कसैको दुईमत नहोला । तर सबैको सीप लालबहादुरको जस्तो त हुँदैन नै ।
वि.सं.२०७३ पुस २३ शनिवार ०७:५८ मा प्रकाशित