दिगो योजना एवम् राष्ट्रिय प्राथमिकता विनाका कार्यक्रमले आर्युवेदको दिगो विकास गर्नभन्दा यथास्थितिमा नै राख्ने देखिन्छ । नयाँ कलेज स्थापना, भौतिक पूर्वाधार विकास हुनु आवश्यकता हो तर उचित जनशक्ति विकास एवम् उपयोग नगरी आवश्यकता को नाममा गुणस्तरहीन र छ्टिो छरितो बाटो रोज्नु उचित हुँदैन ।
आर्युवेद चिकित्साशास्त्र मात्र नभई आयु सम्बन्धी सम्पूर्ण ज्ञान दिने जीवन विज्ञान हो । आर्युवेदको लक्ष्य स्वस्थ मानिसको स्वास्थ्यको रक्षा एवम् रोगीको रोग उपचार गर्नु हो । नेपालमा आर्युवेदको प्रचलन आदिकालदेखि भएको चरकसंहिताको प्रथम ऋषि गोष्ठि हिमालय प्रदेशमा भएको भन्ने आधारबाट पुष्टि हुन्छ । हिमालय प्रदेशलाई आर्युवेदमा श्रेष्ठ/उत्तम औषधभूमि मानिएको छ । आर्युवेदमा आहार, निन्द्रा, ब्रह्मचार्य दिनचर्या, ऋतुचर्या, सदवृत्त आदि एवम् विविध रोग एवम् उनको उपचार विस्तृत वर्ण पाईन्छ । आर्युवेद मूलरुपमा आठ विधामा बाँडिएको भएता पनि हाल २२ वटासम्म विभाग विभाजन भईसकको छ । भारतमा विशेषतः १४ वटा विभाग अनिवार्यरुपमा कलेजमा हुनुपर्ने प्रावधान छ । आर्युवेद हाम्रो मौलिक धर्म संस्कृति एवम् परम्परागत जीवनशैलीसँग जोडिएको छ । आर्युवेद चिकित्सा पद्धतिले नेपालमा ऐतिहासिक महत्व राख्दछ । केहि अत्यन्त महत्वपूर्ण हस्तलिखित पाण्डुलिपिहरू नेपालमा सुरक्षित छन् । काश्यपसंहिता जुन आर्युवेदको कौमारभृत्य विधामा बालरोग एवम् स्त्री (प्रसूति) रोग आधिकारिक पुस्तकको रुपमा सम्पूर्ण भारतमा अध्ययन हुन्छ त्यो नेपाल राजगुरु पंडित हेमराज शर्माजीबाट हस्तान्तरण भएको हो, हाल चौखम्बा प्रकाशन वाराणासीबाट प्रकाशित छ । ८५ प्रतिशत भन्दा बढी नेपालीहरू कुनै न कुनै प्रकारको आयूर्वेद चिकित्सा प्रयोग गर्दछन् । कतिपय हाम्रा गाउँ, घर एवम् समाजका मूल्य र मान्यताहरूमा आर्युवेदका स्वास्थ्यका सिद्धान्त पालन भएको पाईन्छ ।
नेपाल सरकारले आर्युवेदलाई राष्ट्रिय चिकित्सा पद्धति स्विकार गरेतापनि यसको विकासमा ठोस कदम चालेको देखिँदैन । ऐतिहासिक कालदेखि चलिआएका आर्युवेदका परम्परागत मूल्य मान्यताहरूको वैज्ञानिक विश्लेषण गरी संस्कृतिको रक्षा एवम् स्वास्थ्य प्रबद्र्धन गर्न सरकार चुक्दै गएको छ ।
नेपालमा सर्वप्रथम प्राविधिक शिक्षाको सुरुवात नै आयूर्वेद पाठशालाबाट भएको उल्लेख पाईन्छ तर हालसम्म पनि गुणस्तरीय आर्युवेद अध्ययनको उचित अवसरको खोजीमा नेपालबाट भारत जाने क्रम जारी छ । स्नातकोत्तरका लागि भारत एकमात्र विकल्प छ । त्यसमा पनि सरकारको उचित र दिगो परिकल्पना नहुँदा कुनै विषयमा विशेषज्ञनै नभएको र भएको विषयमै अन्य विद्यार्थीहरू पनि भारतीय दूतावासबाट प्राप्त छात्रवृत्तिमा अध्ययन गर्ने गरेको हँुदा आर्युवेदको शिक्षा एवम् भविष्यमा खोलिने विश्वविद्यालय एवम् कलेजका लागि उपयुक्त जनशक्तिको कमी तत्काल पूर्ति हुने देखिदैन । जस्तै कायचिकित्सामा नेपालमै पनि अध्ययन सुरु भैसकैको एवम् १५ जना विशेषज्ञ भएको तर केहि विधा जस्तै अगदतन्त्रमा एक जना पनि विशेषज्ञ नभएको अवस्था छ । नेपालमा आयूर्वेद शिक्षा विभिन्नस्तरमा गरिँदै आएको भएतापनि त्यसको समयानुरुपि विश्लेषण नहुँदा कतिपय जनशक्ति बेरोजगार देखिन्छन् । आर्युवेद वैद्य एवम् कविराज पाठ्यक्रमको गुणस्तर एवम् उपयोगिताको पुनः विश्लेषण एवम् पाठ्यक्रम परिवर्तन गरी प्रयोगात्मक बनाउन जरुरी छ । आर्युवेद चिकित्सक अध्ययनका लागि नेपालमा चारवटा कलेज भएपनि अत्यन्त न्यून जनशक्ति एवम् पूर्वाधारको अभावले कुशल चिकित्सक उत्पादन गर्न नसक्ने देखिन्छ । त्रि.वि. आयूर्वेद कलेज किर्तिपुरले भारतबाट भारतीय चिकित्सा केन्द्रीय परिषद् (CCIM) स्नातक तहको समकक्षता गराएपछि उच्च अध्ययनको बाटो खुलेको छ । बाँकि ३ कलेजका विद्यार्थीको भविष्य एवम् उच्च अध्ययनका अवसरको विश्लेषण देखिदैन । उच्च अध्ययनको अवसर प्रदान गराउन भारतीय दूतावास एवम् भारत सरकारको सहयोगमा त्रि.वि.ले समकक्षता लिएको हो तर त्रि.वि. आर्युवेद कलेजमा पनि आर्युवेद विधाका विभिन्न न्यूनतम विभाग नभएको एवम् आर्युवेद जनशक्ति एवम् पूर्वाधारको अभाव देखिन्छ ।
नेपालमा करीब ५ सयको हाराहारीमा स्नातक आर्युवेद चिकित्सक छन् । विभिन्न विधामा विशेषज्ञ नेपाली चिकित्सक पनि ४५ को हाराहारीमा छन तर पूर्वाधार एवम् अवसर नहुँदा विशेषज्ञ चिकित्सक पनि विशेषज्ञ भएको अनुभव गर्न नपाएको गुनासो गर्दछन् । कतिपय विशेषज्ञ चिकित्सक सरकारी सेवा या कलेज अध्यापनमा अवसर नपाएर नीजि क्षत्रेमा चिकित्सा गर्न बाध्य छन् । विशेषज्ञ विधामा आर्जित ज्ञान, सीप एवम् चिकित्सा कौशल पनि स्रोतसाधन एवम् अनुसन्धानका अवसरको कमीका कारण ह्रास हुनु स्वभाविक हो । विश्वभरी नै परम्परागत चिकित्सा पद्धतिप्रति बढ्दो आकर्षणलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनको समन्वयमा परम्परागत चिकित्सा पद्धति घोषणापत्र जारी भएपछि केहि विशेष कार्यक्रमका अवधारणा नेपाल सरकारबाट पनि आएका छन् ।
गतवर्षको राष्ट्रिय बजेटमा विदुषी योगमाया आर्युवेद विश्वविद्यालय स्थापना गर्न, सिंहदरबार वैद्यखानालाई जी,एम.पीमा लैजाने, राष्ट्रिय पंचकर्म एवम् योग केन्द्र स्थापना गर्ने जस्ता कार्यक्रमले आशाका किरण देखिन्छन् तर हाल भईआएका आयूर्वेदका भौतिक पूर्वाधार एवम् जनशक्तिबाट समाज एवम् राष्ट्रले उचित फाइदा लिन सकिरहेको देखिदैन । चीन सरकारको सहयोगमा स्थापना भएको राष्ट्रिय आयूर्वेद अनुसन्धान तथा तालिम केन्द्रले पनि जनशक्ति अभावले गर्दा अनुसन्धानको ठोस कार्य गरेको देखिदैन । दिगो योजना एवम् राष्ट्रिय प्राथमिकता विनाका कार्यक्रमले आयूर्वेदको दिगो विकास गर्नभन्दा यथास्थितिमा नै राख्ने देखिन्छ । नयाँ कलेज स्थापना, भौतिक पूर्वाधार विकास हुनु आवश्यकता हो तर उचित जनशक्ति विकास एवम् उपयोग नगरी आवश्यकता को नाममा गुणस्तरहीन र छ्टिो छरितो बाटो रोज्नु उचित हुँदैन ।
नेपालमा आर्युवेदलाई जडिबुटि या केहि दीर्घरोगको उपचारसँग मात्र जोडिएको देखिन्छ । आर्युवेदमा प्रशस्त सम्भावनाहरू छन् । एन.सी.डी. रोगहरूको रोकथाममा आर्युवेद प्रभावकारी छ । हाम्रो प्राकृतिक एवम् साँस्कृतिक स्वरुप आर्युवेद पद्धतिको लागि उपयुक्त छ । केन्द्रीय तथा जिल्ला आयूर्वेद अस्पतालहरूको पूर्वाधार विकास, पाण्डुलिपिहरूको संरक्षण एवम् प्रकाशन, नेपाली फार्माकोपिआको विकास, हाम्रै टी.के.डी.एल. (Traditional Knowledge Digital Library) को विकास एवम् Evidence Based Medicine मा अनुसन्धान हुनु आवश्यक छ । आयूर्वेद शिक्षाको माग अन्तर्राष्ट्रियस्तरमा बढ्दो छ । भारतमा विभिन्न देशबाट सरकारी एवम् निजी विद्यालय एवम् विश्वविद्यालयहरूमा आर्युवेद पढन आउँछन् । भारत सरकारले विभिन्न राष्ट्रका विश्वविद्यालयहरूमा आर्युवेद विकासका लागि आर्युवेद प्रध्यापकहरू पठाउने गरेको देखिन्छ । भारतले १/२ दशकमै आयूर्वेदमा ठूलो फड्को मारेको छ एवम् आउने दिनहरूमा अझै विकासका स्वरुप देखिन्छन् । त्यसैले उचित समयमै हामीले पनि विकास गरी लाभ लिन जरुरी छ । आफनै देशमा आर्युवेद शिक्षाको लागि अन्तर्राष्ट्रियस्तरको कलेज एवम् अस्पताल स्थापना गर्न सकियो भने विश्वभरीमा नेपाल आर्युवेद शिक्षा एवम् चिकित्साको केन्द्र बन्न सक्छ । भारत सरकारले आयूर्वेद विकासको लागि विशेष ठोस योजनाबद्ध कार्यक्रमहरू लागू गरेकाले आवश्यक खण्डमा सहयोग एवम् परामर्श लिने र अनावश्यक सानोतिनो सहयोगको लागि ताकेता गर्न उचित देखिँदैन ।
हाम्रो प्रकृति आर्युवेदले वर्णन गरेको जस्तो छ, सवै ऋतु युक्त वातावरणले गर्दा आर्युवेद उपचार विशेषगरी बढ्दै गएको पंचकर्म विधाका लागि अझै बढी प्रभावकारी हुन्छ । व्यवसायिक जडिबूटि खेति गरी कृषि क्षेत्रको विकास तथा प्रशोधित जडिबूटि निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुराउन सकिन्छ । चिकित्सा पर्यटनमा आर्युवेद विशेष गरी पंचकर्मले धेरै ठूलो योगदान दिन सक्छ । नेपाल आर्युवेद चिकित्सा परिषद्लाई अझै सशक्त बनाई सम्पूर्ण सरोकारवालाहरूको समन्वय एवम् विभिन्न मन्त्रालय एवम् विभागहरू बीच समन्वय गरी दिगो योजना एवम् उचित पूर्वाधार विकास गरे आर्युवेद शिक्षा एवम् चिकित्सा पद्धतिमा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय रुपमै फड्को मार्न सकिन्छ । यसो नगरे आउने दशकहरूमा सरकार नीजि क्षेत्रको आपसी द्वन्द्वमा मुकदर्शक मात्र बन्ने छ ।
लेखकः बी.ए.एम.एस, एम.डी. आर्युवेद (पंचकर्म), हालः (पी.एच.डी. आर्युवेद अध्येता, राष्ट्रिय आर्युवेद संस्थान जयपुर (राज.) भारत
वि.सं.२०७३ पुस २३ शनिवार ०८:५९ मा प्रकाशित