काठमाडौं । बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठनमा मुख्यतः ईश्वर पोखरेलको जिम्मेवारी हेरफेरप्रति निकै प्रश्नहरु उब्जिएका छन् । धेरैको प्रश्न पोखरेलको जिम्मेवारी हेरफेर गरिनु ‘घटुवा’ किन ‘बढुवा’ भन्ने छ । साथै कतिपयले ‘कारबाही’ गरिएको त होइन् भन्ने आशंका पनि गरेका छन् ।
बुधबार गरिएको मन्त्रिपरिषद पुनर्गठनमा पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जिम्मेवारी तोकिएको छ । रक्षाको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओली स्वंयले लिएका छन् ।
राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तीअनुसार पोखरेललाई यसअघि तोकिए झैं कुनै मन्त्रालयको जिम्मेवारी भने दिइएको छैन् । विज्ञप्तीअनुसार पोखरेललाई उपप्रधानमन्त्रीको पद भने दिइएको छ ।
पद उपप्रधानमन्त्री दिइने तर मन्त्रालय नतोक्ता उनीमाथि कारबाहीको डण्डा प्रयोग गरिएको धेरैको अनुमान छ ।
यसअघि २०६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले पनि अहिलेका कृषिमन्त्री घनश्याम भुसाललाई यसै गरि जिम्मेवारी बिहिन बनाएका थिए । त्यस समय भुसाललाई कुनै पनि मन्त्रालयको जिम्मेवारी दिइएको थिएन् ।
तर, पोखरेल नै अनविज्ञ !
पोखरेलको जिम्मेवारी हेरफेरसँगै सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा निकै धेरै टिप्पणीहरु देखिएका छन् । उनलाई विनाविभागिय बनाइएसँगै उनीमाथि कारबाही गरिएको टिप्पणीहरु सार्वजनिक छन् ।
तर, जिम्मेवारी हेरफेरबारे स्वंय पोखरेल भने अनविज्ञ रहेको जस्तो देखिएको छ । बुधबार मध्यरात पोखरेलले सामाजिक सञ्जाल ट्विटरमार्फत व्यक्त गरेको विचारले पनि त्यस्तै संकेत गर्दछ ।
पोखरेलले विकसित परिस्थिति र घटना बुझ्न कोशिस गर्दै भन्ने अभिव्यक्ति दिएका छन् । उनले भनेका छन् , ‘विकसित परिस्थिति र घटना-प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्तिरटिप्पणी हेर्दै, बुझ्ने कोशिस गर्दै !’
पोखरेलसँग असन्तुष्ट थिए ओली
ईश्वर पोखरेल जिम्मेवारीमा रहेदेखि नै पटक–पटक विवादमा पर्दै आएका थिए । रक्षाको जिम्मेवारीमा रहेका पोखरेलको सेनासँग पनि सम्बन्ध बिग्रिएको थियो ।
पछिल्लो समय कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा लिने सन्दर्भमा नेतृत्वमा रहेपनि उनले आशातित काम गर्न सकेनन् । बरु उल्टै विवादित निर्णय गरेर चर्चामा आए ।
मेडिकल सामाग्री खरिद प्रकरणमा उनले खेलेको भूमिकाले समग्र सरकार नै बदनामसमेत भएको छ । सेनालाई मेडिकल सामाग्री खरिद गर्न दिने विषयले पनि अर्को विवाद जन्माएको छ ।
अनेकन विषयमा विवादमा जोडिएसँगै पोखरेलसँग प्रधानमन्त्री स्वंय असन्तुष्ट रहेको चर्चा चलेको थियो । पोखरेलको सन्दर्भमा सत्तारुढ पार्टीभित्र पनि असन्तुष्टी छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार १३:२२ मा प्रकाशित





























