काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बैंक खाता चीनमा पनि रहेको खुलासा भएको छ । अमेरिकी सञ्चार माध्यम न्यूयोर्क टाईम्स सो विषयमा खुलासा गरेको हो ।
ट्रम्पले चीनमा आफ्नो खाता रहेको र कारोबार पनि भईरहेको विषय स्वीकारेका छन् । उनले उक्त खातालाई इन्टरनेशनल होटल्स म्यानेजमेन्टले नियन्त्रित गर्ने दाबी गरेका छन् ।
जानकारीअनुसार ट्रम्प राष्ट्रपति बन्नु अगावै सन् २०१३ देखि २०१५ को बीचमा चीनमा बैंक खाता खोलिएको थियो ।
ट्रम्पका प्रवक्ताको दाबी : बैंक खाता व्यवसायीक लेनदेन गर्नका लागि मात्रै थियो
बैंक खाता रहेको खुलासा भएसँगै ट्रम्पका प्रवक्ताले बैंक खाता व्यवसायीक लेनदेनसँग मात्रै सम्बन्धित भएको दाबी गरेका छन् ।
उनले एशिया क्षेत्रमा होटल उद्योगसँग सम्बन्धित लेनदेनका क्रममा खाता खोलिएको बताए । अन्य प्रयोजनमा बैंक खाता प्रयोग नभएको उनको दाबी छ ।
चर्को विवादमा पर्ने सम्भावना
यसअघि ट्रम्पले कर भुक्तानीमा मनोमानी गरेको विषय सार्वजनिक भएको थियो । जुन घटनासँगै ट्रम्प बदनामसमेत भएका थिए ।
चीनकै चर्को विरोध गर्दै आएका ट्रम्पको चीनमा पनि बैंक खाता हुनुले थप विवाद बढाउन सक्ने सम्भावना छ । चुनावको मुखैमा तथ्य सार्वजनिक हुनुले ट्रम्प समस्यामा पर्ने देखिन्छ ।
कोरोना महामारी फैलिइरहँदा ट्रम्पले चीनको निकै आलोचना गरेका थिए । उनले कोरोना महामारी फैलनुमा चीनको हात रहेको बताईरहेका थिए ।
उनले सार्वजनिक कार्यक्रममा पनि चीनलाई कारबाही गर्नुपर्ने भनाई राखेका छन् । तर, चीनमा नै उनको बैंक खाता भेटिएसँगै विषय अन्तै मोडिएको छ । जसले ट्रम्पलाई समस्या तिर लैजाने सम्भावना छ ।
वि.सं.२०७७ कात्तिक ५ बुधवार १४:३९ मा प्रकाशित





























