कोरोना महामारिकै विचमा यसबर्षको दशै मनाईयो । शुभकामना र खुशि बाँडने कुरामा कुनै कमि भएजस्तो लागेन तर एउटा सानो घट्नाले मेरो दशैंलाई तरंगित बनाईदियो । नवमिको वेलुकापख वजार गर्ने क्रममा भरतपुर महानगरको नयाँ वसपार्क पुग्दा १ जोडि नेपाली नागरिक वसपार्कको उत्तरपट्टि अवस्थित चौपारीको अगाडि खुला आकाशमुनि एउटा कार्टुन र पुरानो फोमले वेरेको सानो दुलो मुनि गुजारा गरेको देखें । पत्रकार त हैन, तैपनि मनले मानेन ,नजिकै गएर पुरुषलाई भेटें । श्रीमतीलाई कानको समस्या रहेछ । देउघाट जन्म वताउने ती जोडिका १० सन्तान सवैको आ-आफ्नो घरवार भैसकेको रहेछ । आँफूसंग कुनै जग्गाको औंश नभएको वताए ।
पछि उनी पक्का सर्वहारा भएको बुझ्न मलाई कठिन परेन । दशैं कसरी मनाउनु हुन्छ भन्ने प्रश्नमा लक्ष्मीचोकमा छोराले वोलाएको छ उतै जानू पर्ला भने । धेरै सोधेर उनको घाउको खाटा उप्काउन मन लागेन । मेरो खल्तिको दशैंखर्च कटाएर दिएको दानले पनि उनको स्थाई समाधान देखिन भारि मन लिएर फर्कें ।
रातभर मन रुमल्लिरह्यो । हामिसंग ठुल्ठुला आन्दोलन र संघर्ष गरेर ल्याएको गणतान्त्रिक सरकार छ । एक्काईसौ सताब्दिको सभ्य समाज छ । सवैको लागि शिक्षा भन्ने मुलनाराका साथ सवै ब्यक्ति र परिवारलाई शिक्षित एवं आत्मनिर्भर वनाउने उद्देश्यको शिक्षा नीति लागू भैरहेको छ । अनि यहि देशमा एउटा नागरिक परिवार खुला आकाशमुनि रित्तो खल्ति र खालिपेटमा दशैं मनाउदै छ । उसकै पछाडि पट्टि देखिने गगनचुम्बि महलले उसलाई बाँस दिदैन, किनकि त्यो उसको हैन ! मेरो दयाले एकछाक खानदिएर वा एकरात सुलभ ओछ्यानमा सुत्ने सुबिधा जुटाएर उसको समस्याको स्थाई समाधान हुने पनि भएन ।

सुकुम्बासी आयोगको उसमाथि आँखा पर्ला ! अहं पत्याउदिन ! किनभने म सर्वहारा सुकुम्वासि हुं भनेर प्रमाण जुटाई आयोगसम्म पुग्ने उसको चेतनास्तर मैले देखिनँ । समाजवाद उन्मुख समाजको निर्माण गर्ने परिकल्पना गरिरहंदा यस्ता मुसाफिरहरुको तथ्याङ्क सरकारी फाईलमा नछुटोस् यस बर्षको बडादशैको उपलक्ष्यमा सबैमा शुभकामना !!!! भन्ने आालेख तयार गर्न मन लाग्यो । तर उल्लासको दिन यस्तो संवेदनात्मक विषयलाई संप्रेषण गर्न सकिनँ, तसर्थ वासी पोष्ट दशैंको उपहार स्वरुप आज ।
वि.सं.२०७७ कात्तिक ११ मंगलवार ०९:२५ मा प्रकाशित






























