२६ पुस, काठमाडौँ । यस वर्षको ‘शुक्लाफाँटा पत्रकारिता पुरस्कार’ मरणोपरान्त कञ्चनपुरका पत्रकार कर्ण बोहरालाई प्रदान गरेको छ ।
शुक्लाफाँटा एफएमद्वारा स्थापित उक्त पुरस्कारको राशी रु ११ हजार एक सय ११ रहेको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका भाँसीमा सञ्चालित उक्त एफएमले पत्रकारिता क्षेत्रमा आफ्नो अमूल्य योगदान दिएको भन्दै आफ्नो १० औँं वार्षिकोत्सवमा स्वर्गीय बोहरालाई मरणोपरान्त उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो ।
भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मिर्गौलाको उपचार गराइरहनुभएकी स्व. बोहोराकी श्रीमती ममतालाई सोमबार अस्पतालमै भेटेर सो पुरस्कार प्रदान गरिएको शुक्लाफाँटा एफएमका स्टेशन म्यानेजर विष्णु अवस्थीले जानकारी दिनुभयो ।
एफएमका अध्यक्ष यज्ञराज चटौत र स्टेशन म्यानेजर अवस्थीले संयुक्तरुपमा उहाँलाई नगदसहित सम्मान पत्र प्रदान गनुभएको हो । पत्रकार बोहराको गत मङ्सिर १० गते काठमाडौँको भेनस अस्पतालमा निधन भएको थियो ।
वि.सं.२०७३ पुस २६ मंगलवार ०३:०७ मा प्रकाशित