२६ पुस, बर्दिबास । महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको सोमबार शिलान्यास भएको छ ।
हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८ लाख लागतमा बनाउन लागेको सो बस्तीको आज महजोडीेले शिलान्यास ग¥यो । सो अवसरमा कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले मुलुकका विभिन्न भागमा धुर्मुस–सुन्तलीले दुःखी, गरिब र आपद्विपद्मा परेका नेपालीको सेवामा लागेर अनुकरणीय काम गरेको बताउनुभयो ।
कार्यक्रममा फाउन्डेसनका अध्यक्ष सीतारामले बस्ती निर्माण आगामी चैत मसान्तभित्रै सम्पन्न गरिने जानकारी दिनुभयो । आगामी विसं २०७४ को पहिलो दिनमै मुसहर बस्तीका ५० परिवारलाई नवनिर्मित पक्की घर हस्तान्तरण गरिने उहाँको भनाइ छ ।
सो अवसरमा विभिन्न सङ्घसंस्था, कार्यालय र व्यक्तिले बस्ती निर्माणका लागि रु १८ लाख र निर्माण सामग्री फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गर्नुभयो । फाउन्डेसनले यसअघि काभ्रेपलाञ्चोकको पहरी बस्ती र सिन्धुपाल्चोकको गिरान्चौर बस्ती निर्माण गरिसकेको छ ।
वि.सं.२०७३ पुस २६ मंगलवार ०३:०९ मा प्रकाशित




























