काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिएको छ । विवादका बीच सुरु बैठक आगामी १० दिनपछि पुनः बस्नेगरि सकिएको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेखेको पत्र, प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदन र गत भदौ २६ मा सम्पन्न स्थायी समिति बैठकपश्चात जारी अन्तरपार्टी निर्देशनमाथि अध्ययन गर्नको लागि बैठक स्थगित गरिएको हो । सचिवालयका सदस्यहरुलाई पत्र, प्रतिवेदन र अन्तरपार्टी निर्देशन अध्ययन गर्न वितरणसमेत गरिएको उनले जनाए ।
श्रेष्ठले जानकारी दिएअनुसार बुधबार सम्पन्न बैठकले तय गरेको कार्यसूचीमा केन्द्रीत रही आगामी बैठकमा छलफल हुनेछ ।
‘कार्यकारी अध्यक्षसहित हामी पाँच जना सचिवालयका सदस्यहरुले अध्यक्ष कमरेड केपी ओलीलाई सहमतीमा बैठक राख्न दिएको पत्र र त्यसको जवाफमा कमरेड केपी ओलीले कमरेड प्रचण्डलाई लेख्नुभएको पत्र, उक्त पत्रको जवाफमा प्रचण्डले लेख्नुभएको पत्र र प्रचण्डले तयार गर्नुभएको प्रस्ताव र स्थायी कमिटीको बैठकपछि तयार गरिएको अन्तरपार्टी निर्देशिका आज सबै सचिवालयका सदस्य कमरेडहरुलाई अध्ययनको लागि वितरण गरिएको छ’, श्रेष्ठले भने, ‘यी सबै साम्रागीहरुको अध्ययन गरिसके पछि पार्टीमा गम्भीर रुपमा छलफल गरि निकास खोजिनेछ भन्ने धारणाका साथ पुनः पार्टी सचिवालयको बैठक मंसिर १३ गते बस्ने गरि स्थगित गरिएको छ ।’
उनका अनुसार पार्टीमा उत्पन्न संकट र कोभिड–१९ले निम्त्याएको संकट नै छलफलको मुख्य कार्यसूची हुन् । जहाँ कर्णाली विवाद, पर्सा घटना र गोयल भ्रमणका विषय जोडिएका छन् ।
वि.सं.२०७७ मंसिर ३ बुधवार १५:०५ मा प्रकाशित






























