
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढिरहेको बेला सचिवालय सदस्य ईश्वर पोखरेलले दौडधुप बढाएका छन् । शुक्रबार बिहान कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निवासमै पुगेर भेटेका उनले लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास पुगेका हुन् ।
शुक्रबार बिहान साढे १० बजेतिर प्रचण्ड निवास खुमलटार पुगेका पोखरेल एक घण्टा बसेर फर्किएका थिए । हाल उनी भण्डारीसँगको छलफलका लागि शितल निवासमा छन् ।
नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच संवाद हुन नसकिरहेका बेला पोखरेलले सक्रियता बढाएका हुन् । सचिवालय बैठकले एकले अर्कोलाई आक्षेप लगाउँदै प्रस्ताव पेस गरेसँगै दुई अध्यक्षबीच बोलचालसमेत बन्द छ ।
यसैबीच, नेकपा विवादमा राष्ट्रपति भण्डारीले दुवै पक्षसँग छलफल गरिरहेकी छिन् । उनले बिहिबार मात्र ओली र प्रचण्डसँग छुट्टा छुट्टै छलफल गरेकी थिइन् । शुक्रबार पोखरेलको दौडधुपलाई पनि सोही छलफलको निरन्तरताको रुपमा बुझिएको छ ।