काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बस्दैछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठक यसअघि तय भएको समयमा नै बस्ने तयारी भईरहेको छ ।
मंसिर १७ मा बसेको सचिवालय बैठकले आइतबारदेखि स्थायी समिति बैठक बोलाउने निर्णय गरेको थियो । जसबारे शनिबार बसेको सचिवालय बैठकले पनि उक्त निर्णयलाई बहुमतीय ढंगबाट सदर गराएको थियो । जहाँ प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने असहमती जनाएका थिए ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका दुवै प्रस्तावमाथि छलफल हुनेछ । गत कात्तिक २६ को सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले १९ पृष्ठ लामो प्रस्ताव अगाडि सारेका थिए भने मंसिर १३ मा बसेको सचिवालय बैठक अर्का अध्यक्ष ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेस गरेका थिए । जसमा एकले अर्कोलाई कडा आलोचना गरिएको छ ।
यसैबीच बैठकमा प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओलीको भने उपस्थिति अनिश्चित बनेको छ । ओली निकट स्रोतले जनाएअनुसार उपस्थिति हुने नहुने हालसम्म निर्णय भईसकेको छैन् ।
वि.सं.२०७७ मंसिर २१ आइतवार १३:०५ मा प्रकाशित






























