
काठमाडौं । आन्तरिक विवाद बढेसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गुटगत भेलाहरुले तिव्रता पाएका छन् । जसमा युवा तथा विद्यार्थीहरुको भेला क्रमिक रुपमा दुवै पक्षले गर्न थालेका छन् ।
केहि दिनअघि थापाथली क्याम्पस काठमाडौंमा विद्यार्थी भेला गरेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आइतबार झापा दमकमा विद्यार्थी भेला गरेको छ । प्रचण्ड–नेपाल पक्षले दमकको बहुमुखी क्याम्पसमा प्रदेश १ स्तरीय विद्यार्थी भेला गरेको हो ।
भेलामा प्रदेश १ का आर्थिक मामिलामन्त्री इन्द्र आङ्बो प्रमुख अतिथि भएका थिए । त्यस्तै नेकपाका केन्द्रीय सदस्यहरू शिवकुमार मण्डल, महेष रेग्मी, भाष्करराज काफ्ले, झलकसंह दर्लामीसमेत भेलामा सहभागी भएको बताइएको छ।
विद्यार्थीहरुलाई सम्बोधन गर्न अनेरास्ववियुका सहसंयोजक रञ्जित तामाङ पनि पुगेका थिए ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओली पक्षका विद्यार्थीहरूले मंसिर २२ मा विराटनगरमा प्रदेशस्तरीय भेला गरेका थिए।