पुस १३, काठमाडौं । एकिकृत अवस्थामै रहेको बेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जब–जब विवादमा फस्थ्यो तब–तब चिनियाँ पक्षको सक्रियता पनि ह्वात्तै बढेको देखिन्थ्यो । चिनियाँ राजदूतमात्रै होइन् चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का नेताहरु पनि नेकपाका नेताहरुलाई भेट्न काठमाडौं नै आइरहेका हुन्थे ।
आज नेकपा विभाजनपश्चात पनि चिनियाँ पक्षको सक्रियता ह्वात्तै बढेको छ । चिनियाँ राजदूत होउ यान्छीले भेटवार्ता तिव्र बनाईरहेको बेला चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का अन्तराष्ट्रिय विभागका महत्वपूर्णं नेता नै काठमाडौं आईपुगेका छन् । सीपीसीका अन्तराष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वमा आइतबार चार सदस्यीय प्रतिनिधिमण्डल काठमाडौं ओर्लिएका थिए ।
काठमाडौं आएको गुओ यैचौ नेतृत्वको टोलीले आइतबार नै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो । टोलीले सोमबार विभाजित नेकपाका अन्य महत्वपूर्णं नेताहरुसँग पनि भेटवार्ता गरेको छ ।
यैचौ नेतृत्वको टोलीले सोमबार नेकपाको प्रचण्ड–नेपाल समुहका दुवै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । साथै उक्त समुहका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेटवार्ता गरेको छ । टोलीले नेताहरुको निवासमै पुगेर भेटवार्ता गरेको थियो ।
चिनियाँ टोली के–का लागि काठमाडौंमा ?
प्रतिनिधि सभा विघटन र नेकपा विभाजनसँगै नेपाली राजनीतिमा गम्भिर संकट देखिएको छ । जसप्रति दुई छिमेकी मात्रै होइन् अन्य राष्ट्रले पनि चाँसो राखेका रहेका छन् । परराष्ट्र विद् हिरण्यलाल श्रेष्ठका अनुसार सत्तारुढ नेकपासँग भाइचाराको सम्बन्धमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी) नेकपालाई मिलाउन सकिन्छ कि भन्ने चाहना बोकेर नेपाल आएको हो ।
श्रेष्ठका अनुसार चिनियाँ पक्ष सकेसम्म नेकपालाई विभाजन हुन नदिने र विभाजन भईहालेमा छिमेक नीतिमा परिवर्तन नगरोस् भन्नेमा छ । उनका अनुसार नेकपा विभाजन नै भएपनि छिमेकीलाई समस्या पार्ने काम नहोस् भन्ने चिनियाँ पक्षको चाहना छ ।
‘अहिले चिनियाँ पक्ष भरसक नेकपालाई मिलाउने कोशिसमा देखिन्छ, उनीहरु मिलाउनै नसकिने स्थितिमा संयुक्त मोर्चा कायम गर भनिरहेका छन् भन्ने पनि आएको छ’, श्रेष्ठले भने, ‘कमसेकम चीन विरोध गतिविधि गर्न नदिने, एक चीनको नीतिमा दुवै दल एक हुन् भन्ने उनीहरुको चाहना छ ।’
नेपालको स्थिरता नखल्बलीने गरि विवादै भएपनि छिमेकीलाई समस्यामा पार्ने खालको काम नहोस् भन्न उनीहरु नेपाल आएको उनले बताए ।
के छन् चिनियाँ पक्षको प्राथमिकता ?
नेपालबाट सुरक्षा चुनौति मात्रै होइन् चिनियाँ पक्ष नेपालमा गरिएको लगानीको सुरक्षा पनि खोजीरहेका छन् । पछिल्लो तीन वर्षको अवधिमा चिनियाँ व्यवसायीले नेपालमा निकै ठूलो लगानी पनि गरेका छन् । विभिन्न ठूला खालका परियोजनामा उनीहरुको संलग्नता छ ।
नेपालको राजनीतिक स्थीरता चीनको प्राथमिकतामा पर्नुको कारण चिनियाँ लगानी पनि रहेको परराष्ट्र विद् श्रेष्ठ बताउँछन् । उनका अनुसार नेपालमा राजनीतिक अस्थिरता निम्तिएर आफ्ना व्यवसायीको लगानी नडुबोस् भन्ने उनीहरुको चाहना हो ।
श्रेष्ठले अघि भने, ‘तीन वर्षको उद्योग मन्त्रालयको तथ्यांकअनुसार चिनियाँ पक्ष नेपालमा लगानी गर्नेमा पहिलो रहेछन् । उनीहरु आफ्नो लगानीको पनि सुरक्षा खोजीरहेका छन् । लगानी नडुबोस् भन्ने उनीहरुको चाहना छ । साथै चिनियाँ पक्षले गरिदिएका अनुदानका कार्यक्रमलाई पनि निजिकरण नगरियोस् भन्ने उनीहरुको चाहना हो ।’
श्रेष्ठका अनुसार चीन नेपालबाट सुरक्षा चुनौति नहोस्, भाइचारा सम्बन्ध रहेको दल सत्तामा रहोस् र चिनियाँ पक्षबाट गरिएका लगानी नडुबुन भन्नेमा छ । साथै आफ्नो पक्षबाट गरिएका अनुदान सहयोग निजिककरण नहुन भन्नेमा पनि चीनको चाँसो रहेको उनले सुनाए ।
के भेटवार्ताले भाइचारा सम्बन्ध रहेको नेकपा जोगिएला ?
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुस ५ मै विभाजित भईसकेको थियो । औपचारिक घोषणा नभएपनि दुवै पक्षले आ–आफ्नो केन्द्रीय समितिको बैठक डाकेर अलग–अलग निर्णय पनि गरिसकेका छन् ।
नेकपाको दुवै पक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा माधवकुमार नेपाल पक्षले एकले अर्कोलाई कारबाही गर्दै पार्टीबाट निष्कासनको निर्णय पनि गरिसकेका छन् । दुवै पक्ष निर्वाचन आयोगबाट कुन पक्षले वैद्यता पाउने अथवा नेकपाको नाम र चुनाव चिन्ह कसले पाउने भन्ने लडाईँमा छन् ।
नेकपाको अहिलेको लडाईँ एउटाले अर्कोलाई कसरी सिध्याउने भन्नेमा मात्रै सीमित छ । यस्तो अवस्थामा कसैले मिलाएर नेकपा एक हुन्छ भनी अनुमान गर्नु व्यर्थ रहेको धेरैको बुझाई छ । नेकपाको प्रचण्ड–नेपाल समुहका नेता सुरेन्द्र कार्की (पार्थ) पनि चिनियाँ नेताहरुको भेटघाट सद्भावभन्दा बाहिर केहि हुन नसक्ने बताउँछन् ।
‘उहाँहरुले गर्नुभएको भेटघाट सद्भाव प्रकट गर्ने मात्रै कुरा हो’, कार्कीले भने, ‘नेकपाका नेताहरुलाई मिलाउने कुरा भनेको नेकपाकै नेताहरुले आफ्नो कमीकमजोरी आत्मसमिक्षा गरेर मिले मिल्न सक्छन् अन्यथा कसैले मिलाएर मिलाउन सक्ने भन्ने छैन ।’
उनका अनुसार तपाईँ मिल्नुस भनेर चिनियाँ पक्षले राखेको चाहना स्वभाविक छ । चीनको कम्युनिष्ट पार्टीले जस्तै अन्य देशका कम्युनिष्टहरुले पनि त्यस्तो चाहना राख्दै आग्रह गरेको उनले सुनाए । तर, पार्टी विभाजन तहसम्मको समस्या गहिरो भएको भन्दै उनले त्यसमा बाह्य शक्तिले भन्दा आन्तरिक शक्तिले मात्रै भूमिका खेल्न सक्ने बताए ।
वि.सं.२०७७ पुस १३ सोमवार १८:२६ मा प्रकाशित
























