११ माघ, काठमाडौँ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जर्मनीका पूर्व अध्यक्ष तथा एनआरएनए आईसीसीका पूर्वसल्लाहकार पुष्प थापाले आईसीसी सम्मेलनमा पास हुन नसकेको एनआरएनए विधान विशेष अधिवेशनले कसरी पास गर्यो भन्ने सवाल उठाएका छन् ।
एनआरएनएको शनिबार र आइतबार सम्पन्न विशेष महाधिबेशनले बिधान पास गरेपछि उनले यस्तो सवाल उठाएका हुन् । महाधिबेशनले सर्वसम्मतबाट पास गरेको हल्ला गरेको भन्दै त्यसलाई उनले हुकुमी शैली भनेका छन् ।
‘आईसीसीबाट समेत पास हुन नसकेको बिधान भर्चुअलमा पढेर २६०० नक्कली र फर्जी प्रतिनिधिहरुको नाम दर्ता गरे पनि उपस्तिथि जम्मा ३.०८% सहभागी त्यसमा पनि ९२% बिधानको विपक्षमा र जम्मा ८% को मात्र सहमतमा कसरी सर्वसम्मत भयो’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।
विधान समितिका उपसंयोजकसमेत रहेका थापाले ‘१६५ जना केन्द्रीय कार्यसमिति मा १०० जनाको पनि उपस्थिति नरहेको सभाले विना कुनै छलफल पास गरेको निर्णयलाई कसरी लोकतान्त्रिक भन्ने ?’ प्रश्न गरेका छन् ।
आउँदो आईसीसी विश्व सम्मेलनअघिको साधारणसभाबाट पास गर्नुपर्ने आग्रहका बाबजुद् भर्चुअल बैठकबाट जसरी पनि पास गर्ने भनि एउटा पक्षबाट लागेपछि असहमति जनाउँदै आफूले गतमहिना नै उपसंयोजकको जिम्मेवारी समेत छाडेको जनाएका छन् ।
महाधिबेशन उद्घाटन कार्यक्रममा उपस्थित हुन पाएपनि प्रतिवेदनहरुमा सवाल उठाउन सक्ने भएकाले आजको कार्यक्रममा समेत आफूहरुलाई सहभागि नबनाइएको भन्दै उनले दुखेसो व्यक्त गरेका छन् ।
आफ्नो असहमति कुनै व्यक्तिको विरोध नभएको स्पष्ट पार्दै उनले सामाजिक संस्थालाई लोकतान्त्रिक ढंगले अगाडि बढाउन र यसलाई विदेशमा बस्ने नेपालीहरुको अपनत्व रहने साझा संस्था बनाउनु पर्नेमा उनले जोड दिएका छन् ।
वि.सं.२०७७ माघ ११ आइतवार १३:४६ मा प्रकाशित






























