माघ १५, काठमाडौं । कानून व्यवसायीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतमा उपस्थित गराउन माग गरेका छन् । प्रधानमन्त्री ओलीविरुद्व दायर अवहेलना मुद्दामा बिहिबार बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले ओलीलाई अदालतमै उपस्थित गराए जवाफ दिन माग गरेका हुन् ।
प्रधानमन्त्री ओलीविरुद्व वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए भने चार पूर्वप्रधानन्यायाधीशविरुद्व अधिवक्ताद्वय लोचन भट्टराई र धनजित बस्नेतले छुट्टाछुट्टै निवेदन दर्ता गराएका थिए ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामाथि पटक–पटक सार्वजनिक रुपमा टिप्पणी गर्दै आएका छन् । उनले इजलासमा भईरहेको बहसलाई ‘तमासा’ भन्ने गरेका छन् । ओलीले बयोबद्ध वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई पनि सार्वजनिक कार्यक्रमकै बीचमा ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाए’ भन्ने टिप्पणी गरेका थिए ।
ओलीविरुद्व दायर मुद्दामा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू ओमप्रकाश अर्याल, कञ्चनकृष्ण न्यौपाने र लोकेन्द्र ओलीलगायतले बहस गरेका थिए । न्यायाधीश डा। मनोजकुमार शर्माको एकल इजलासमा मुद्दा सुनुवाइ जारी छ ।
सम्बन्धित समाचार
प्रधानमन्त्री ओली र चार पूर्वप्रधानन्यायाधीशविरुद्व परेका अवहेलनासम्बन्धी मुद्दामाथि सुनुवाई हुँदै
वि.सं.२०७७ माघ १५ बिहीवार १५:११ मा प्रकाशित






























