२८ माघ ,काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई पुरानै शैली र संरचनामा सञ्चालन गर्ने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्ले प्रदेश सरकारसँग आवश्यक समन्वय गरी राष्ट्रिय परीक्षा बोर्डले विगत वर्षझैँ एसईई सञ्चालन गर्ने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले नै परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरणको व्यवस्था मिलाउने गरी बाटो खोलिदिएको छ ।
कानुनको अभावमा अझैसम्म पनि कक्षा १० को एसईई परीक्षा राष्ट्रिय स्तरमा सञ्चालन हुँदै आएको छ । एसईईको परीक्षा प्रदेश स्तरबाट सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि यसमा राज्यले स्पष्ट कानुन बनाउन सकेको छैन ।
मन्त्रीपरिषद्को निर्णयसँगै अब प्रदेश सरकारसँग आवश्यक समन्वय गरी बोर्डले परीक्षाको तयारीलाई अगाडि बढाउने छ । खासगरी उत्तरपुस्तिकाको छपाइको आर्थिक जिम्मेवारी प्रदेश सरकारसँग रहेकोले समन्वयबाटै काम गर्नुपर्ने अवस्था रहेको बोर्डले जनाएको छ । हाल एसईईको परीक्षा फाराम भर्ने कार्य चलिरहेको छ ।
यसका साथै प्रश्नपत्र निर्माणलगायतका परीक्षासँग सम्बद्ध काम अगाडि बढाइएको छ । बोर्डले परीक्षाबारेमा आधिकारिक निर्णय भने गरिसकेको छैन । यसका साथै शैक्षिक सत्रको व्यवस्थापनको अधिकारसमेत बोर्डलाई दिइएको छ ।
वि.सं.२०७७ माघ २८ बुधवार ०८:३९ मा प्रकाशित






























