फागुन १, काठमाडौं । जनयुद्धका सारथि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र डा. बाबुराम भट्टराई फेरि एकपटक नजिक भएका छन् । दुई नेताबीच गोप्य संवादहरु चलिरहेको चर्चाका बीच औपचारिक रुपमै दुई नेता नजिक देखिएका हुन् ।
शनिबार डा. भट्टराईद्धारा लिखित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा दुई नेता एउटै मञ्चमा देखिएका हुन् । बालुवाटारको एक पार्टी प्यालेसमा भएको विमोचन कार्यक्रममा दुवै नेताले फेरि जुट्नुपर्ने धारणासमेत राखेका छन् ।
‘परिवर्तनको रक्षा गर्न फेरि सँगै लड्ने बेला भएको छ’
जनयुद्धका घटनासँग सम्बन्धित पुस्तक ‘गुमनाम आमाहरुको कथा’ विमोचन कार्यक्रममा प्रचण्ड प्रमुख वक्ताको रुपमा उपस्थित थिए । प्रमुख वक्ताको रुपमा उपस्थित प्रचण्डले फेरि परिवर्तन पक्षधर एक हुनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्धको उठान गर्ने नेताहरु फेरि एक ठाउँमा हुनुपर्ने पनि धारणा राखे ।
‘आजको दिन विशेष दिन हो, ऐतिहासिक आन्दोलनको लागि प्रतिबद्धता व्यक्त गरेको यस दिनलाई यस कार्यक्रमले विशेष बनाएको छ’, प्रचण्डले भने, ‘यहाँ केही साथीहरुले भन्नु भयो ‘जनयुद्ध जारी छ’, अहिले साँच्चै नै हामीले लामो संघर्षबाट प्राप्त गरेको उपलब्धीमाथि हमला भएको छ, त्यसको रक्षाको निम्ति हामी सबै फेरि एक भएर त्यसको प्रतिवाद गर्ने ठाउँमा छौं, मोर्चा खोली नै सकिएको छ ।’
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले छिट्टै सकारात्मक परिणाम दिने सन्देश पनि दिएका थिए । उनको अर्थ प्रचण्ड र बाबुरामलगायत जनयुद्धकालिन नेताहरु एक हुने संकेत हो ।
‘ऐतिहासिक दिन पारेर यो ‘गुनमान आमाहरुको कथा’ विमोचन गरिएको छ’, बाबुराम तर्फ हेर्दै प्रचण्डले भनेका छन्, ‘मलाई लाग्छ, यो कार्यक्रमले एउटा नयाँ आधारमा विचार र भावनाको विकास गर्नेछ, मैंले यो कार्यक्रमलाई सामान्य औपचारिक कार्यक्रम मात्रै भनेको छैन्, यसको विशेष अर्थ छ, विशिष्ट महत्व छ, आउने दिनमा यसको परिणाम सकारात्मक नै हुन्छ भन्ने विश्वास लिएको छु ।’
वि.सं.२०७७ फागुन १ शनिवार १७:४२ मा प्रकाशित






























