
फागुन ४, काठमाडौं । नेकपा विभाजन हुँदै गर्दा सचिवालयका बहुमत, केन्द्रीय समिति र स्थायी समितिका दुई तिहाई बहुमत सदस्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नेतृत्वको नेकपामा देखिए । विभाजन हुँदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली समूहतर्फ थोरै नेताहरु मात्रै देखिए ।
अहिले आधिकारिताको लडाईँ चलिरहँदा प्रचण्ड–नेपाल पक्षले त्यहि दुई तिहाई सदस्यलाई आधार मानेर आफुँले आधिकारिता पाउनुपर्ने दाबी गरिरहेको छ । ओली समूहले भने प्रथम अध्यक्ष र महासचिवसहित पार्टीको आधिकारिक पक्ष नै आफुँसँग रहेको दाबी गरिरहेको छ ।
जुन विषयमा देखिएको विवादको निरुपण निर्वाचन आयोगले गर्दै छ ।
यस्तोमा एउटा बहस उठेको छ– सरकार चलाईरहेको ओली समूहमा नेताहरु किन कम लागे ? सरकार बाहिर रहेको प्रचण्ड–नेपाल समूहमा नेताहरु किन धेरै देखिए ?
जसमा ओली पक्षमा नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो धारणा राखेका छन् । उनका अनुसार प्रचण्ड-नेपाल पक्षले नेताहरु व्यवस्थापनामा ध्यान दिँदा उक्त समूहमा नेताहरु धेरै देखिएका हुन् । उनका प्रधानमन्त्री ओलीले कार्यकर्ता र जनताको धेरै ध्यान दिएका छन् ।
‘नेता व्यवस्थापनमा जोड दिनेतिर नेताहरू धेरै, कार्यकर्ता र जनताको व्यवस्थापनमा जोड दिनेसँग कार्यकर्ता र जनता धेरै हुनु स्वभाविक हो’, सामाजिक सञ्जालमा उनले भनेका छन् ।
तर, उनको तर्कमाथि भने धेरै प्रश्न उठेका छन् । किनकी सरकारी संयन्त्रको समेत प्रयोग गरि ओली समूहले गरेको शक्ति प्रदर्शनभन्दा प्रचण्ड–नेपाल समूहले गरेको शक्ति प्रदर्शनमा बढि कार्यकर्ताको सहभागीता देखिन्छ ।