
उकाली चढौंला ओराली झरौंला
सातभन्ज्याङ भने पनि त्यो पनि तरौला
तिम्रै लागि हो भने ज्यानै दि दिउँला
मायाप्रेममा समर्पित यो गीत धेरै नेपालीको मुखबाट गुन्जिन्छ । एकअर्काको प्रेममा समर्पित हुनेहरुले यहि गीतका माध्यमबाट आफ्ना प्रेमि प्रेमिकाबीच जीवन समर्पर्ण गरेको सम्झन्छन् अनि कल्पना पनि गर्छन । यसलाई उदय सोताङ र मनिला सोताङको जोडीको स्वरले जीवन्त बनाएको छ । तर, यहि गीतलाई हृदयको कन्दराबाट रचेर बाहिर ल्याएका गीतका रचनाकार कृष्ण अविरल भने कतै भेटिन्नन् । अनि कमै श्रोतालाई थाहा छ यो गीत त्यहि चर्चित लेखक कृष्ण अविरलले लेखेका हुन् भनेर । यो गीतको कतिपय भिडियोमा उनको नाम समेत लेखिएको देखिन्न । सायद उनलाई एउटा अर्को क्षेत्रको सफलताले चुलीमा पु¥याएकोले होला । उनको जीवनको यति सुन्दर पाटो सुन्दर श्रृजना भने छायामा परेको हामीले पाएका छौं ।
मञ्जरी प्रकाशनका अध्यक्ष समेत रहेका उनलाई धेरैले लेखक तथा साहित्यकारका रुपमा मात्र चिन्छन् । दरबार हत्याकाण्डको विषयलाई लिएर चर्चित ‘रक्तकुण्ड’ उपन्यास लेखेका अविरलसँग त्यसैको सेरोफेरोमा केन्द्रित रहेर कुरा गर्न मञ्जरी प्रकाशन पुगेको संसारन्युज डटकमको सम्वादताले अविरलको छायाँमा परेको अर्काे प्रतिभा बाहिर ल्याउने कोशिष गरेको हो ।
५०÷६० वटा गीत रेकर्ड भएका छन्
मैले धेरै गीत लेखें । मेरो ५०÷६० वटा गीत त रेकडै नै भएको छ । सबैभन्दा पहिला २०५७ सालमा ‘थाहै हुन्न खुकुरीलाई अचानो पीर, थाहै हुन्न नभोग्नेलाई के हो व्यथा पीर’ रेकर्ड गराएँ । यसमा उदय सोताङको संगीत, पेमा लामा र रिमला मोक्तानको स्वर रहेको छ । त्यस्तै एल्बम प्राप्ती भित्रको ‘लाग्छ तिमि सागर सरी’शीर्षकको गीत त्यसमा प्रमोद खरेलको स्वर रहेको छ । उदय सोताङ र मनिला सोताङको स्वरमा रहेको उकाली चढौंला ओराली झरौंला, एकैरथका दुई पाङ्ग्रा हाम्रो जिन्दगानी, गणेश यशोधा पराजुलीको लाली हुँदो रैछ माया, शर्मीला बर्देवाको स्वरमा अन्न जोख्ने मानापाथी, दुर्गा खरेलको ‘किन किन उनीलाई आफ्नै भन्न मन लाग्छ, नछोएरै उनीलाई मायाँ गरु लाग्छ’ लगायतका गीतहरु मैले लेखेको हुँ । अहिले पनि कसैले लेखिदिनुहोस् भन्छन् भने म लेख्छु ।
गीतले गायकलाई चिनाउँदो रहेछ
उकाली चढौँला ओराली झरौँला भन्ने गीत कस्तो त भन्दा उदय मनिलाको भनेर चिनिन्छ । तर गीत त मैले लेखेको हो नी । त्यहाँ गीतकारलाई कसैले चिन्दैन मात्र गायकलाई चिन्छन् । लाग्छ तिमि सागर सरी गीत कस्तो त भन्दा प्रमोद खरेलको । एउटा गीतकारले कति दुःख गरेर गीत लेख्छ उ त्यहाँ गुमनाम हुन्छ । त्यस मध्येको म एक गुमनाम स्रष्टा हुँ । एउटा गीतकारले लेखेको गीतले गायक चर्चामा आउने तर स्वयं स्रष्टा भने मर्दा रहेछन् ।
गुजाराको लागि आख्यान रोजें
गीत लेखेर गुजारा चल्ने छाँट नदेखेपछि मैले आख्यान रोजेको हुँ । किताव लेखनलाई मैले मुख्य प्राथमिकतामा पारें । उपन्यास लेखनमा लागेपछि मैले गीत लेखनलाई चटक्कै छाडेंभन्दा पनि फरक पर्दैन । यदाकदा लेख्ने भनेको छुट्टै हो ।
छैटौं उपन्यास ‘नम्रता यही’ साता बजारमा
मेरो ११ औं कृति र छैटौं उपन्यास ‘नम्रता यही साता बजारमा आउँदैछ । टिनेज अवस्थाका किशोर किशोरीको मनोविज्ञानमा आधारित उपन्यास हो नम्रता । टिनेज अवस्थाका किशोरी विपरित लिङ्गीप्रति सामान्य आकर्षित हुन्छिन् । तर अभिभावकले त्यसलाई गलत अर्थमा बुझिँदिदा ति किशोरी विद्रोही भएर मानसिक सन्तुलन गुमाउन पुग्छे । त्यही टिनेज अवस्थाका किशोर किशोरीको कथा समेटिएको उपन्यास हो ‘नम्रता’ ।
म कुनै कृति विमोचन गर्दिन
पुस्तक विमोचन गर्ने भनेको समाचारको लागि हो । तर त्यो पुस्तकको समाचार नै बन्दैन भने किन विमोचन गर्ने ? म एउटा पत्रकार पनि हुँ । मेरो धेरै पत्रकार साथीहरु छन् । मैले रक्तकुण्ड उपन्यास एउटा समारोहका बीच विमोचन गराएँ तर कुनै पत्रपत्रिकाले त्यसको समाचार लेखेनन् । त्यसपछि प्रकाशित भएका मेरा कुनै कृति विमोचन गरिन । पछि कवि सीमा आभासको एउटा कविता सङग्रह मञ्जरीले प्रकाशन ग¥यो उहाँको कृति विमोचनको कार्यक्रम राखें तर उहाँको कृतिको पनि समाचार आएन । त्यसपछि मैले कुनै पनि कृति विमोचन नगर्ने निर्णय गरे । यसमा सायद म नै दोषि छु होला ।
मेरा कृति पुरस्कार गुठीमा दर्ता छैनन्
मैले मेरो कुनै कृतिलाई पुरस्कार गुठीमा दर्ता गरेको छैन । पुरस्कार पाउन चाकडी गर्नुपर्दाे रहेछ । म चाकडी गर्न नजान्ने मान्छे । मेरो कुनै पुस्तक पुरस्कार गुठीमा दर्ता छैन ।
व्यवसायिक लेखकलाई बाँच्न गाह्रो छैन
यहाँ लेखेर मात्र बाँच्न गाह्रो भनेर जसरी हल्ला पिटिएको छ त्यो एकदमै गलत हो । एउटा लेखकले मेहेनत गरेर लेखेको छ भने उ पक्कै सफल भएको हुन्छ । साहित्यको बजार अहिले जसरी बढेको छ त्यो अनुसारको लेखक बढेका छैनन् । साहित्यकार हुने रहर धेरै गर्छन् तर मेहेनत गर्न कोही तयार छैनन् । म दावाका साथ भन्न सक्छु मेहेनत गरेर लेख्ने बाँच्न सक्छ । मेहेनत गरेर लेख्नेले यदि समाजले खोजेको कुरा हामीले लेखन मार्फत दिन सकियो भने त्यो लेखकलाई लेखेर बाँच्न कुनै गाह्रो छैन । यहाँ सुवीन भट्टराई, अमर न्यौपाने, बुद्धि सागर, नारायण वाग्ले, कृष्ण अविरल जस्ता लेखकहरु बाँच्न सक्छन् भने अरु त्यस्ता लेखक बाँच्न सक्दैनन् ?
मञ्जरीको युवा लेखन प्रतिभा पुरस्कार
मैले पुरस्कार थाप्नलाई कोशिष गरेको छैन, तर नयाँ पुस्ता साहित्यमा आउन भन्ने हेतुले युवा लेखन प्रतिभा पुरस्कार दिन सुरु गरेको छु । १ लाख राशीको यो पुरस्कार यो वर्षदेखि सुरु गरेको छु । साहित्यमा केही गर्न चाहन्छु भन्ने नव प्रतिभाहरुलाई यसले प्रेरणा दिनेछ भन्ने आशा छ ।
प्रस्तुतीः संगीता पनेरु