
वैशाख १०, काठमाडौं । नेकपा (एमाले)मा रामबहादुर थापा बादलको बरियता पार्टी महासचिव ईश्वर पोखरेलपछि कायम भएको छ । शुक्रबार बसेको एमालेको महाधिवेशन आयोजक कमिटीले गठन गरेको स्थायी कमिटीअनुसार बादलको बरियता पोखरेल पछि देखिएको हो ।
बरियतामा पार्टी अध्यक्ष केपी शर्मा ओली पछि बामदेव गौतमलाई राखिएको छ । बादललाई ओली, गौतम र पोखरेलपछि चौथो बरियतामा राखिएको छ । बादलसँगै विष्णु पौडेल र सुवास नेम्वाङको बरियता कायम गरिएको छ ।
यसअघि बादलले माओवादी केन्द्र छाड्दै गर्दा ओली पछिको बरियता आफुँलाई दिनुपर्ने माग राखेको कुरा बाहिर आएको थियो ।
शुक्रबार ओलीले माधव कुमार नेपाल समूहलाई ‘आउट’ गर्दै स्थायी कमिटी घोषणा गरेका थिए । उनले तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको समय आफुँ पक्षमा देखिएका नेताहरुलाई समेटेर स्थायी कमिटीको निर्माण गरेका हुन् ।
आजको बैठकमा ओलीले थप केहि सदस्य थपिने पनि जानकारी गराएका छन् ।
वि.सं.२०७८ वैशाख १० शुक्रवार १४:५२ मा प्रकाशित