
२६ बैशाख, काठमाडौं । क्रसर, खानी उद्योग, उर्जा उत्पादक संघ लगायतले आफ्ना उद्योगमा संचालन भइरहेको अक्सिजन सिलिण्डरहरु सरकारलाई दिने घोषणा गरेका छन् ।
देशमा कोरोना महामारी तिब्ररुपमा बढ्दै गइरहेको र अक्सिजनको अभावमा धेरैले ज्यान गुमाइरहेको स्थितिमा यी उद्योगहरुले आफूहरुले प्रयोग गरिरहेको अक्सिजन सिलिण्डर सरकारलाई दिने घोषणा गरेका हुन् ।
स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) ले हाल कोभिड–१९ का कारण देशमा सिर्जना भएको विषम् परिस्थिति सँग लड्नु हामी सबैको पहिलो कर्तव्य रहेको बताउँदै उर्जा आयोजनाहरुसँग प्रयोग भइरहेका अक्सिजन सिलिण्डर आफ्ना नजिकका जिल्ला प्रशासन कार्यालय, स्वास्थ्य कार्यालय वा कोभिड १९ सँगण् सरोकार राख्ने निकायहरुमा उपलब्ध गराइ नेपाली जनताको ज्यान गुमाउनुपर्ने अवस्थाबाट मुक्त गर्न सहयोग गर्न सम्बन्धीत सबैलाई अपिल गरेको छ ।
देशभरीका क्रसर तथा खानी उद्योगीहरुलाई महासंघको अपिल
त्यसैगरी नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले पनि विश्वभरी फैलिएको कोरोना महारीले नेपालमा पनि नराम्ररी प्रभाव पारेको तथा स्वास्थ्य संस्थाहरुमा अक्सिजन अभाव भएकोमा आफ्नो गम्भीर ध्यनाकर्षण भएको बताएको छ ।
महासंघका महासचिव पुरुषोत्तम रेग्मीद्धारा आइतबार जारी विज्ञप्तिमा देशभर रहेका क्रसर तथा खानी उद्योगहरुले आ–आफ्नो उद्योगमा रहेका अक्सिजन ग्यास खाली तथा भरी सिलिण्डरहरु जिल्ला तथा प्रदेश संघहहरुमा रेर्कड राखी आ–आफ्नो उद्योग रहेको स्थानीय सरकार प्रमुखहरु मार्फत् नेपाल सरकारलाई उपलब्ध गराइदिन अपिल गरेको छ ।
‘ राष्ट्रिय विपद्को समयमा देश र जनताप्रति दायित्व पूरा गर्न आ–आफ्नो तर्फबाट सहयोग गर्नुहुन यस महासंघ देशभरका सम्पूर्ण क्रसर तथा खानी उद्योगी व्यवसायीमा हार्दिक अपिल गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।