नवलपुर । देवचुलीमा विद्यालय सवारी साधनको प्राविधिक परीक्षण तथा सचेतना कार्यक्रम सम्पन्न भए छ ।
नगरपालिकाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको सुरक्षित आवतजावतलाई उच्च प्राथमिकता दिँदै विद्यालय सवारी साधनको प्राविधिक परीक्षण (स्वास्थ्य चेकजाँच) तथा सचेतना कार्यक्रम सम्पन्न गरेको हो ।
नगरपालिकाको आयोजनामा देवचुलीको रजहरमा सम्पन्न उक्त कार्यक्रममा नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा सञ्चालित साना र ठूला गरी करिब ६० वटा सवारी साधनहरूको विस्तृत प्राविधिक परीक्षण एवं सुरक्षा अनुगमन गरिएको थियो । सोही अवसरमा सवारी चालक तथा सहचालकहरूका लागि विशेष सचेतनामूलक प्रशिक्षण समेत प्रदान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं देवचुली नगरपालिकाका नगर प्रमुख हरिप्रसाद अधिकारीले विद्यार्थीहरूको जीवन रक्षा र सुरक्षा नगरपालिकाको पहिलो प्राथमिकता रहेको स्पष्ट पार्नुभयो। विद्यालय सवारी निर्देशिका पूर्ण रूपमा पालना गर्न विद्यालय प्रशासन, चालक तथा सम्बद्ध सबै पक्षलाई निर्देशित गर्दै उहाँले भन्नुभयो, “विद्यार्थी बोकेर सञ्चालन हुने सवारी साधनमा कुनै पनि प्रकारको लापरवाही अक्षम्य र अस्वीकार्य हुनेछ। नियमित चेकजाँच, अनुशासन र जिम्मेवार व्यवहारले मात्र सुरक्षित विद्यालय वातावरण निर्माण गर्न सकिन्छ।“
सवारी साधनको प्राविधिक परीक्षण गर्दै यातायात व्यवस्था विभागका प्रतिनिधि निश्चल अर्यालले चालक तथा सहचालकहरूलाई ट्राफिक नियम, सुरक्षित सवारी सञ्चालन, विद्यार्थीप्रतिको दायित्व तथा आपतकालीन अवस्थाको व्यवस्थापन सम्बन्धी चेतनामूलक सन्देश दिनुभएको थियो। उनले विद्यालय सवारी साधन सञ्चालनका क्रममा हुने सामान्य कमजोरीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकाले चालकहरूले विशेष सावधानी अपनाउन आवश्यक रहेको औंल्याए ।
त्यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालयका निरीक्षक कुशल बर्तौलाले देवचुली नगरपालिकाले विद्यार्थीको हित र सुरक्षालाई केन्द्रमा राखेर सञ्चालन गरेको यस कार्यक्रमको खुलेर प्रशंसा गरे । स्थानीय तहको यस्तो सक्रियताले ट्राफिक सचेतना अभिवृद्धि हुनुका साथै दुर्घटना न्यूनीकरणमा समेत महत्वपूर्ण सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।
इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लालबहादुर शाहीले विद्यालय क्षेत्रमा अनुशासित र सुरक्षित सवारी सञ्चालन अनिवार्य रहेको उल्लेख गर्दै चालकहरूलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे । उनले यो विषय बालबालिकाको सुरक्षासँग जोडिएकाले सबै पक्ष उत्तिकै जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा जोड दिए ।
के-के गरियो प्राविधिक परीक्षणमा?
कार्यक्रम अन्तर्गत सवारी साधनहरूको ब्रेक, टायर, लाइट, इन्जिनको अवस्थाका साथै आवश्यक कागजात, बीमा, ’फस्र्ट एड बक्स’ (प्राथमिक उपचार बाकस) र अग्नि नियन्त्रक उपकरण लगायतका सुरक्षा सामग्रीको विस्तृत परीक्षण गरिएको थियो। साथै चालकहरूलाई तीव्र गति नियन्त्रण, विद्यार्थी चढाउने तथा ओराल्ने क्रममा अपनाउनुपर्ने सावधानी र विद्यालय क्षेत्रभित्र पालना गर्नुपर्ने अनुशासनबारे जानकारी गराइएको थियो ।
नगर प्रमुखका स्वकीय सचिव सागर न्यौपानेका अनुसार यो कार्यक्रम नगरपालिकाको स्वीकृत “विद्यालय सवारी स्वास्थ्य चेकजाँच कार्यक्रम“ अन्तर्गत सञ्चालन गरिएको हो। हाल नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा करिब ६० वटा साना तथा ठूला सवारी साधन सञ्चालनमा रहेको जानकारी दिँदै उहाँले विद्यार्थीहरूको दैनिक आवतजावतलाई सुरक्षित, व्यवस्थित र मापदण्डअनुकूल बनाउन नगरपालिकाले आगामी दिनमा पनि नियमित रूपमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्ने तयारी गरेको बताए ।
नगर शिक्षा शाखाका कर्मचारी नन्दलाल ढकालले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, नगर शिक्षा शाखाका प्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापकहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरू, र सवारी चालक तथा सहचालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी प्रधानाध्यापक तथा सवारी चालकहरूले नगरपालिकाको यस कदमको स्वागत गर्दै यस्ता नियमित अनुगमन र सचेतनाले विद्यालय सवारी सञ्चालनलाई थप सुरक्षित र विश्वसनीय बनाउने विश्वास व्यक्त गरेका छन् ।
वि.सं.२०८३ जेठ १० आइतवार १६:२७ मा प्रकाशित






























