
अत्यावश्यक सेवा खट्टिने नेविप्राका कर्मचारीहरुलाई यथासिघ्र कोभिड भत्ताको व्यवस्था गर्न र संक्रमित कर्मचारीहरुको उपचारमा कमिहुन नदिन व्यवस्थापनको ध्यानाकर्षण गरिएकाे छ ।
२६ वैशाख, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको आधिकारिक ट्रेड युनियन राष्ट्रिय कर्मचारी युनियनले कोरोनाको यो कठिन समयमा कर्मचारीको पक्षमा विभिन्न ११ बुँदे माग राख्दै प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।
संक्रमणको अधिक जोखिम रहेको विषम अवस्थामा पनि अत्यावश्यक विद्युत सेवा प्रवाहमा अहोरात्र खटिएका कर्मचारीहरुको मनोबल उच्च बनाउन तथा सुरक्षामा जिम्मेवार हुन भन्दै युनियनले प्राधिकरण ब्यबस्थापनको ध्यानाकर्षण गराएको हो ।
युनियनका संयोजक रामेश्वर प्रसाद पौडेलद्वारा जारी ध्यानाकर्षण पत्रमा प्राधिकरणका सबै कर्मचारीहरुको बिमा गर्न, अत्यावश्यक विद्युत सेवा प्रवाहमा खटिने कर्मचारीहरुलाई विगतको झैँ थप भत्ताको व्यवस्था गर्न तथा काममा खटिन नसकेने यस्ता कर्मचारीहरुलाई निषेधाज्ञाको अवधिभरको तलब उपलब्ध गराउन माग गरिएको छ ।
साथै निषेधाज्ञाका कारण काममा खटिन नसकेका कर्मचारीहरुको तलब भक्ता भर्ने गरी घरमुकाम काजको व्यवस्था गर्न माग गरिएको छ ।
त्यस्तै सेवा प्रवाहमा खटिने कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामग्रीहरुको उपलब्ध गराउन, त्यस्ता कर्मचारीहरुको कोरोना परीक्षण गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ ।
हरेक प्रदेशमा कोरोना संक्रमित कर्मचारीहरुको उपचार तथा व्यवस्थापनका लागि आवश्यक स्वास्थ्यकर्मी तथा खानपिनको व्यवस्थासहित २५ वेड क्षमताको आइसोलेसन कक्ष तथा क्वारेन्टिनस्थलको व्यवस्था गर्न, सेवा प्रवाहमा खटिने कर्मचारीलाई डिउलीमा ल्याउने र लैजाने व्यवस्था मिलाउन, अनावश्यक भिडभाड नहुने गरी कर्मचारीहरुलाई आलोपालो काममा लगाउन, आवश्यकताको आधारमा सेवा निवृत्त कर्मचारीहरुलाई समेत सेवामा समेट्न तथा प्राधिकरणका सबै कार्यालयहरुबाट अत्यावश्यक विद्युत सेवा अवरुद्ध हुन नदिन आवश्यक टास्क फोर्स बनाइ काममा लगाउन पनि युनिएनले ध्यानाकर्षण गराएको छ ।
वि.सं.२०७८ वैशाख २६ आइतवार १५:५९ मा प्रकाशित