वैशाख ३०, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफुँ पक्षीय सांसदहरुलाई भक्तपुरको एक रिसोर्ट पुर्याएका छन् । बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासबाट फर्किए लगत्तै उनले आफ्ना सांसदहरुलाई बबरमहलस्थित कार्यालयमा बोलाएर भक्तपुर लगेका हुन् ।
रिर्सोटमा पुगेका एक सांसदले बताएअनुसार उनीहरु बैठकका लागि सहभागी भएका हुन् । जनाइएअनुसार रिसोर्टमा हालसम्म १४ जना सांसद जम्मा भएका छन् ।
बताइएअनुसार सांसदद्धय लक्ष्मणलाल कर्ण र नरमाया ढकाल कोरोना संक्रमित भएको कारण होम आइसोलेसनमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा जसपा विभाजित छ । महन्थ ठाकूर ओलीलाई सहयोग गर्ने लाईनमा देखिएका छन् भने उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष ओलीको विकल्प खोज्नुपर्ने लाईनमा छ ।
सरकार निर्माणको विषयमा विभाजित जसपाका दुवै समूह अहिले सांसद तानातानमा देखिएका छन् । पार्टी एकता हुँदा बराबरी स्थीतिमा रहेका दुवै समूह पछिल्लो तानातान पछि कुन बहुमत तिर जान्छ सबैको चाँसो रहेको छ ।
वि.सं.२०७८ वैशाख ३० बिहीवार १७:०१ मा प्रकाशित






























