जेठ ९, काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले आफुँलाई चुनावबाट ब्याक हुन धेरैले धम्की दिएको कुरा खुलासा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आफुँलाई त्यस्तो धम्की दिएको कुरा खुलासा गरेका हुन् ।
देवकोटाले आफुँलाई धम्की दिनेहरुको ‘भ्वाईस’ सुरक्षित राखेको पनि बताएका छन् । ‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाए/थर्काए, समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौंला, कसै कसैको त भ्वाईस रेकर्ड नै राखेको छु’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन् ।
उनले आफ्नो उम्मेदवारी स्वतन्त्र बुद्धिजीवीहरुको इज्जत प्रतिष्ठासँग पनि जोडिएको भन्दै आफुँ पछाडि नहटेको बताएका छन् । उनले आफुँ निष्ठाको राजनीतिबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको ईज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौ । लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले हामीजस्ताबाट केही सिक्दा राम्रै होला । बोलेपछि, सही गरेपछि, वचनवद्धभएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाझी गरेर केही समय त टिकिएला । तर वुझन जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ । निष्ठा र ईमान्दारिताको राजनीतिबाट भागेर नहिडौ । बोली र ईमानमा कटिवद्ध होऔ ।’
राष्ट्रिय सभा निर्वाचनको बागमती प्रदेश तर्फको रिक्त पदमा उनले नेकपा (एमाले)का आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई हराएका थिए । उनले बादललाई १ हजार ७४ मतले पराजित गरेका थिए ।
एमालेको माधवकुमार नेपाल समूह देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले सहयोग गरेको थियो ।
वि.सं.२०७८ जेठ ९ आइतवार १४:२१ मा प्रकाशित






























