जेठ २४, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । उनले भोली (मंगलबार) विश्वासको मत लिन लागेको जनाइएको छ ।
यसअघि आइतबार नै विश्वासको मत लिने तयारी गरिएको थियो तर, नेपाली कांग्रेसले विरोध गरेपछि विश्वासको मत लिने कार्य मङ्लबारका लागि सरेको हो ।
माओवादी केन्द्रको नेतृत्वमा रहेको सुदूरपश्चिममा प्रदेश सरकारलाई नेकपा ९एमाले०ले समर्थन गरेको छ । तर, एमाले समर्थनको विषयमा विभाजित छ । एमालेको स्थायी कमिटी बैठकले समर्थन यही जेठ १० गते फिर्ता लिएको थियो । प्रदेश संसदीय दलको बैठकले भने समर्थन कायम राख्ने निर्णय गर्दै आफ्ना तर्फबाट मन्त्रीसमेत फेरबदल गरेको थियो ।
विश्वासको मत पाउने सम्भावना कति ?
५३ सदस्यीय प्रदेशसभामा भट्टले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)सँग मात्रै १४ सांसद छन् । अहिले उनलाई नेकपा (एमाले)को माधव कुमार नेपाल पक्षले साथ दिईरहेको छ । प्रदेशसभामा एमालेका २५ सांसदमध्ये माधव पक्षमा १८ सांसद छन् ।
यस्तोमा माधव पक्षले सहयोग गरेमा मात्रै भट्टले विश्वासको मत पाउनेछन् । हाल प्रदेश सरकारमा माओवादी केन्द्र र माधव पक्षबीच सहकार्य भएको कारण विश्वासको मत दिनेमा दुविधा छैन् ।
तर, माओवादी केन्द्रको नेतृत्वलाई सघाउने विषयमा एमालेको संस्थापन पक्ष असहमत भएको कारण उसले असहयोग गर्ने सम्भावना छ । यस्तोमा माधव पक्षका प्रदेशसभा सदस्यहरुलाई कारबाही गर्न खोजिएमा समस्या भने आउन सक्छ ।
५३ सदस्यीय प्रदेशसभामा बहुमत पुर्याउन भट्टलाई २७ सदस्यको समर्थन चाहिन्छ ।
सम्बन्धित समाचार
सुदुरपश्चिमको राजनीति : एमालेको समर्थन फिर्तापछि सत्ता जोगाउन माओवादीलाई कति सहज ?
वि.सं.२०७८ जेठ २४ सोमवार १२:४४ मा प्रकाशित






























