
१९ वर्षको कलिलो उमेरमै विद्यार्थीका रुपमा अमेरिका पुगेका काठमाडौँका अनिल पाण्डे झण्डै १० वर्ष अमेरिका बसाईपछि देशको मायाले ग्रीनकार्ड नै त्यागेर सन् १९९१ मा सपरिवार नेपाल फर्के ।
अमेरिकामा होटल म्यानेजमेन्ट पढेर देशमै केहि गर्छु भनेर नेपाल फर्केका उनले केही समय आफूले पढेको भन्दा भिन्न क्षेत्र कलाकारिता तिर लागे । सन्तोष पन्तको हिजो आजका कुरा, रेडियो नाटक, सडक फिल्म, पर्दा नाटक तथा पत्रकारिता र लेखनमा पनि सक्रिय रहे । त्यहि समयमा उनले कमलादीको भान्सा घरमा रोजगार बनि आफूले पढाइको उपयोग गरे । त्यहाँ उनले जनरल म्यानेजरको रुपमा १० वर्ष काम गरे ।
त्यहि बिचमा बुबा भक्तविर पाण्डेको हटअट्याक भएर निधन भयो । उनका जिजुबुबा राजपरिवारका पुरोहित थिए । संजोगबस राजदरबार हत्याकाण्डमा विरेन्द्रको बंश विनास र पाण्डेका बुबाको मृत्यु एउटै महिनामा भएको थियो ।
राष्ट्रको सेवा गर्छु भनेर फर्केका पाण्डेलाई देशमा प्रजातन्त्र आएपछि खुलेका दल र तिनका नेताहरूको लडाई देख्दा वितृष्णा जाग्यो । राजसंस्थातिर झुकाव राखे पनि उनको आफ्नो दल थिएन । दल नभइ नेपालमा अगाडि बढ्न सम्भव नहुने देखे पनि पाण्डेले कुनै दल समातेर चाकरी गर्न भने उचित ठानेनन् । “दलहरू साँढे बनेर टुडिखेलमा लडिरहेका थिए, मैले त्यो भिडमा आफ्नो साँढे खोजे फेलापार्न सकिन चाकरी गर्न पनि चाहिन” पाण्डे भन्छन् ।
मदरल्याण्ड नेपाल क्यालिफोर्नियाको संस्थापक अध्यक्ष समेत रहेका पाण्डे राजदरबार हत्याकाण्डको दोषि ज्ञानेन्द्र नभएर बाहिरी शक्तिको हात रहेको विश्वास व्यक्त गर्छन् । “ज्ञानेन्द्रले यसको चिरफार गरेर जनताको अगाडि राखिदिनु पथ्र्यो, त्यो काममा उनी चुके ।” पाण्डे भन्छन् “संसारका धेरै देशमा राजसंस्था जनताको प्रिय छन्, तर हाम्रो देशको राजसंस्थाले समय अनुसार परिवर्तन हुन जानेन् । फलस्वरुप जनताले राजसंस्थालाई विस्थापित गरिदिए ।”
पाण्डेका अनुसार देशलाई बिगार्ने काम कर्मचारीले गरेका हुन् । कर्मचारीकै कारण देशले आर्थिक समृद्धिको बाटो पक्रन नसकेको र जनताले सदियौदेखि पीडा भोग्नु परेको छ । उनीहरूकै कारण देश अगाडि बढ्न नसकेको पाण्डे स्विकार्छन् ।
कमलादीको भान्सा घरमा काम गर्दागर्दै उनलाई वितृष्णा जाग्यो । बन्द, चक्का जाम अनि उद्योग धन्दा ठप्प । उनको मन स्थिर हुनै सकेन् । केही गर्छु भन्दा राजनीतिक नेताहरूको खुट्टै ढोग्नुपर्ने स्थिति देशमा मौलाएको देखपछि फेरि अमेरिका नै फर्कने निर्णय गरे उनले । अनि त १० वर्षे काठमाडौँ बसाइलाई टुङ्ग्याएर सन् २००१ मा पहिले बाबुछोरा अमेरिका पुगे त्यसपछि श्रीमती रिना पाण्डेलाई बोलाए । उनीहरूले अमेरिकामा फेरि ‘जिरो लेबल’ बाट आफ्नो स्टाटस सुरु गरे ।
अहिले १५ वर्ष नाघ्यो पाण्डे परिवार दोश्रोपटक अमेरिका पुगेको । उनीहरूले क्यालिफोर्नियाको सनफ्रान्सिस्कोमा ६ वटा ब्युटिपार्लर सञ्चालन गरेका छन् । उनकी श्रीमती रिना पाण्डेले यो व्यवसायको विशेष नेतृत्व लिएर अगाडि बढेकी छन् ।
सनफ्रान्सिसकोको वे एरियामा मात्रै नेपालीहरूको ७५ भन्दा बढी व्यवसाय छन् । ग्रोसरी, ब्युटिपार्लर, रेष्टुरेण्ट, एक्सपोर्ट–इम्पोर्ट स्मोक सपहरू (झण्डै १५ वटा), रियल स्टेट, इन्सुरेन्स, एकाउन्टीङ अफिस लगायतका व्यवसायमा नेपालीहरू जमेर बसेको पाण्डे बताउँछन् । मदरल्याण्ड नेपालले अमेरिकाको पश्चिमी क्षेत्रको राजधानी मानिएको क्यालिफोर्नियाको सनफ्रान्सिस्को शहरमा कन्सुलर कार्यालय खोल्न उपयुक्त हुने बताउँदै बिगत आठ वर्षदेखि पराराष्ट्र मन्त्रालयमा निवेदन दिदैँ पहल गरिरहेको छ ।
राजनीतिक दलहरूले जनतालाई भुलभुलैयामा पारे । कर्मचारीले नेतृत्वको बुद्धि भुटे । विकासको काम भएन् । अनि जनताले कसरी सुख पाउने । “अहिले पनि हेर्नुस् म अमेरिकाबाट तीनवटा काम लिएर आएको हुँ । एक महिना भयो केही गर्न सकेको छैन ।” ऐेक्यबद्धताको भलाकुसारीमा पाण्डेले भने ।
युरोप, अमेरिका र नेपालमै पनि धेरै नेपालीहरू चुरोट खाँदै नेपाल खत्तम भयो भनेर खोकेको पाण्डेलाई मन पर्दैन् । “देशका लागि केही गर्नु छैन । देश खत्तम भयो मात्रै भन्छन् सबै, किन सोच्दैनन्, मैले देशका लागि के गरे भनेर ?” उनी प्रतिक्रिया व्यक्त गर्दछन् ।
हालै पाण्डेकै सक्रियतामा मदरल्याण्ड नेपाल र नेपाल पत्रकार महासंघको सहकार्यमा १० लाखको अक्षयकोष स्थापना गरिएको छ । उक्त अक्षयकोषबाट पत्रकार या जुनसुकै क्षेत्रमा रहेर पनि लैङ्गिक समानताको लागि सक्रियरुपमा कलम चलाउने २ जनालाई प्रत्येक वर्ष ४०–४० हजार रुपैयाँ राशिको पुरस्कार वितरण गर्ने सहमति यी दुई संस्थाबीच भएको छ । सन् २००२ मा स्थापना भएको मदरल्याण्ड नेपालले ०६२÷६३ को जनआन्दोलनताका अमेरिकामै रहेर पनि आफ्नो ज्यानको बाजी लगाएर पत्रकारिता गर्ने पत्रकारहरूका लागि सक्रिय सहयोगीको भूमिका निर्वाह गरेको थियो । पत्रकार डेकेन्द्र थापा, ज्ञानेन्द्र खड्का लगायत अन्य पत्रकारहरूका परिवारलाई आर्थिक सहयोग ग¥यो । त्यस्तै खाडी र मलेसियामा अलपत्र परेका केही नेपालीलाई सहयोग गर्यो भने अहिले पनि शिक्षा क्षेत्रमा सहयोग पु¥याइरहेको छ । भूकम्पका बेला अमेरिकाबाटै आफ्नो खर्चमा ४ जना रेस्क्यु टीम र लोकल टेलिभिजन पनि मदरल्याण्डको सहकार्यमा नेपाल आएको थियो ।
जुनसुकै बाध्यताले अमेरिकालाई कर्मक्षेत्र बनाए पनि मन नेपालमै रहेको र नेपालका दिन दुःखीको सेवामै मन रमाउने बताउने पाण्डेले पशुपतिको बनकालीमा फूल बेचेर गुजारा गरिरहेकी सहीद बलमान मोक्तानकी पत्नी एक सय १ वर्षीया लक्ष्मी माया मोक्तान र उनका छोरा कंशलाल मोक्तानलाई भेटेर रु ५० हजार आर्थिक सहयोग गरे । “जीवनमा धेरै समाजसेवाका काम गरे । तर, शहीद परिवारलाई सहयोग गर्नुजस्तो आनन्द कहिल्यै आएन” पाण्डेले सन्तुष्टि व्यक्त गरे ।
कलाकारिता क्षेत्रमा रुचि भएका पाण्डेलाई साथिभाइले नेपालमै बसेर कलाकारिता क्षेत्रमा लाग्न सुझाव पनि दिने गरेका छन् । नेपालमा रहेको बेला उनले निखिल उप्रेती नायक रहेको “रुद्र” फिल्ममा पनि आफ्नो कलाकारिताको रुचिलाई जिवन्त राखेका छन् ।
उनले नेपाली राजनीतिक नेतृत्वलाई व्यंग गरेर गीत पनि लेखेका छन् “कुुसी–कुर्सी” भन्ने । त्यसमा दिनेश डिसीले भिजुअलको जिम्मा लिएका छन् । “मैले त कृषिमन्त्री हरिवोल गजुरेललाई सम्झेर गीत नै लेखेको छु “कुर्सी कुर्सी” त्यो गित बजारमा आइसकेको छ ।” पाण्डेले हाँस्दै भने ।
क्यालिफोर्नियाको सनफ्रान्सिसकोका लागि २०१५ र २०१६ मा पर्यटनदूत भएर काम गरिसकेका पूर्व पर्यटनदूत पाण्डे पर्यटन दूत नियुक्त गरिदिएर मात्र देशको पर्यटन प्र्रबद्र्धन र सम्बद्र्धन गर्न नसकिने बताउँछन् । त्यतिबेला पनि आफ्नै पैसाले ब्रोसर, पम्पलेट किनेर नेपालको पर्यटन प्रबद्र्धन गर्ने गरेको गुनासो गर्दै पाण्डेले भने “बन्दुक चला भनेर हातमा थमाइदिने गोली गठ्ठा नदिने अब भन्नुस् के गर्ने ?
“देश बिग्रीएको प्रणालीको विकास हुन नसक्दा हो । हेर्नुस् हाम्रो देश गरिब होइन्, बिग्रेको पनि छैन । देशलाई चलाउने सहि लिडरको खाँचो मात्र हो । पार्टीहरूभित्र आफ्नै कार्यकर्ता चलाउने नीति छैन । आफूमात्र सर्वेसर्वा हुने । सबै मिलेर देशको स्वार्थमा लागौँ नभन्ने । यसरी देशको विकास हुँदैन । पार्टीगत नभएर राष्ट्रको झण्डा उठाइदिने कोही भयो भने देश अगाडि बढ्न कसैले रोक्दैन्” पाण्डे एकै सासमा सुनाउँछन् ।
पाण्डेको विचारमा एनआरएनहरूलाई भोटिङ राइट दिनुपर्छ । संकिर्ण मानसिकता बोकेर हुँदैन् । राजनीतिमा आउन दिनुपर्छ । विदेशमा पैसा कमाउन भन्दा पनि देशमा केही गर्छु भन्ने सोच बोकेर आउँछन् । त्यो बाटो खोलिदिनुपर्छ । जुन कुरा भुँइचालोले पनि देखाएको छ । “संसारभरी रहेका नेपालीले कसरी देशको पीडामा ऐक्यबद्धता जनाए भन्ने कुरा कसैसामु पनि लुकेको छैन” पाण्डेले थपे ।
प्रस्तुति : चन्दा थापा