असार ३,काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर समूहले कार्यकारिणी समितिमा बहुमत पुर्याउन आफुँ अनुकुल सदस्यहरु थप गरेको छ । समूहले उपेन्द्र यादव पक्षीय कार्यकारिणी सदस्यहरुलाई निष्कासन गर्दै आफुँ अनुकुल २० जना सदस्य थपेर निर्वाचन आयोगमा अद्यावधिकका लागि पठाएको हो ।
बताइएअनुसार समूहले बाबुलाल साह, विजय गुप्ता, अर्जुन उप्रेती, अरविन्द साह, जयप्रकाश ठाकुर, उपेन्द्र महतो, मुकेश झा, शतरजित यादव, एकवाल मियाँ, रमेश पटेल, विमल श्रीवास्तव, उमाशंकर अरगरिया, सन्तोष मेहता, डा. विजय सिंह, कृष्ण सिंह, परमेश्वर साह, अभिराम शर्मा, राजिव झा, सुरेश मण्डल र डा. सुरेन्द्र झालाई कार्यकारिणी समितिमा नियुक्त गरेको छ ।
ठाकुर समूहले कार्यकारिणी समितिमा बहुमत पुर्याउन अध्यक्ष उपेन्द्र यादवसहित महेन्द्र राय यादव, गजादर यादव,रमेश यादव,मृगेन्द्र सिंह यादव,रामनरेश राय यादव र नवलकिशोर यादवलगायतलाई कार्यकारिणी समितिबाट पनि हटाएको छ ।
यसअघि दुवै पक्षले एक–अर्कालाई कारबाही गरेका पत्र निर्वाचन आयोगमा पठाएर दर्ता किताव अद्यावधिक गर्न माग गरेका जसपाका दुबै पक्षको निवेदनलाई आइतबार निर्वाचन आयोगले अस्वीकार गरेको थियो । जेठ ३० गते आयोगले एकजना अध्यक्षले मात्र कसैलाई हटाउन वा कसैलाई राख्न नमिल्ने निर्णय सुनाएको थियो ।
तर, उनले पुनः आफ्नो पक्षमा बहुमत देखाउन यस्तो गरेका हुन् ।
जसपाको साबिक ५१ सदस्यीय कार्यकारिणी समितिका झण्डै दुई तिहाई सदस्य उपेन्द्र पक्षमा छन् । ठाकुर समूहमा जम्मा १६ सदस्य छन् ।
वि.सं.२०७८ असार ३ बिहीवार १४:०१ मा प्रकाशित






























