
१३ असार, डोटी । डोटी र दाङमा खोलाले बगाएर एक महिला र एक बालिका बेपत्ता भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय गण्डिगाड खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार बगेर बेपत्ता हुनेमा पूर्वीचौँकी गाउँपालिका–४ बस्ने भीम मिजारकी पाँच वर्षीया छोरी मिनु रहेकी छन् ।
दिउँसो गाई चराउन गोठालो गएको बेला गण्डिगाड खोलाले बगाउँदा निज बालिका बेपत्ता भएकी हुन् । बेपत्ता बालिकाको खोजीका लागि प्रहरी चौँकी सानागाउँबाट प्रहरी नायव निरीक्षक नारायणदत्त बडुको कमाण्डमा चारजना प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा बाढी आएको र पानी धमिलो भएका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी दाङको पत्रेखोला तर्ने क्रममा एक महिला बेपत्ता भएकी छन् । घोराही ११ निवासी उनको अन्य परिचय खुल्न भने सकेको छैन । घोरोही–११ को जितपुरबाट सिउपुर जानका लागि सिउपुर नजिकैबाट खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालका अनुसार प्रहरी तथा स्थानीय टोलीले खोजी कार्य जारी राखेको छ ।
शनिबार पत्रेखोलाको बहाव पनि यस वर्षकै उच्च रहेको थियो । प्रहरीका अनुसार शनिबार दिउँसोदेखि घोराही–तुलसीपुर सडकखण्ड ठप्प छ । पत्रेखोला, सेवार र हापुर खोलामा पानीको बहाब बढेपछि साना तथा ठूला कुनै पनि सवारी साधन चल्न सकेका छैनन् ।
वि.सं.२०७८ असार १३ आइतवार ०७:३३ मा प्रकाशित