
असार १३, काठमाडौं । वरिष्ठ अधिवक्ता बाबुराम कुँवरले संविधानको धारा ७६ (५) को मर्म प्रतिनिधि सभाका सदस्यहरुले स्वतन्त्र रुपमा सरकार बनाउने भन्ने रहेको जिकिर गरेका छन् । आइतबार प्रतिनिधि सभा विघटनविरुद्व परेको रिटमाथि निवेदकको तर्फबाट संवैधानिक इजलासमा बोल्दै उनले यस्तो जिकिर गरेका हुन् ।
दलहरु सरकार बनाउन असफल भएको अवस्थामा स्वतन्त्र रुपमा जनप्रतिनिधिले अधिकार प्रयोग गर्ने अवस्था धारा ७५ (५)ले दिएको जिकिर उनको छ । संविधान निर्माताको पनि भावना सोही रहेको उनले बताए ।
‘धारा ७६ (५) मा सांसदको भूमिका ७६ (२) मा जस्तो दलका सदस्यको रुपमा खोज्नु हुँदैन,’ उनले भनेका छन्, ‘उपधारा २ दलको निर्णयको कुरा हो भने उपधारा ५ बमोजिम सांसदले व्यक्तिगत रुपमा दावी गर्न र समर्थन गर्न सक्छन् ।’
उनका अनुसार धारा ७६ (५) मा कुनै पनि दलीय ह्वीप लाग्दैन् । जसअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले गरेको दाबी प्रधानमन्त्रीका लागि उपयुक्त छ ।
उनले भनेका छन्, ‘त्यसमा दलीय ह्वीप लाग्ने कुरै हुन सक्दैन, यस अनुसार शेरबहादुर देउवाको दाबीमा स्पष्ट बहुमत छ र उहाँ पिएममा नियुक्त हुनुको विकल्प छैन ।’
७६(४) अनुसारको प्रक्रिया अगाडि बढेर ७६ (५)को अवस्थामा प्रधानमन्त्रीमा दाबी भइसकेको भन्दै अधिवक्ता कुँवरले इजलासमा ७६ (५) अनुसार परेको दाबीमाथि व्याख्या हुनुपर्ने बताए ।
सम्बन्धित समाचार
संवैधानिक इजलासमा बहस : के धारा ७६ का सबै उपधारामा ओली मात्रै प्रधानमन्त्री बन्नु पर्छ ?
वि.सं.२०७८ असार १३ आइतवार १५:१४ मा प्रकाशित